निर्वाचन सार्ने वा दोस्रो चरणमा लैजाने विषयमा कुनै छलफल छैन: खनाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

निर्वाचन सार्ने वा दोस्रो चरणमा लैजाने विषयमा कुनै छलफल छैन: खनाल



काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन देशभर एकै चरणमा सम्पन्न गर्ने सरकारको योजनामा कुनै परिवर्तन नभएको अर्थमन्त्री रामेश्वरप्रसाद खनालले स्पष्ट पारेका छन् । हिमाली जिल्लामा अत्यधिक चिसो र सम्भावित हिमपातका कारण निर्वाचन प्रभावित हुनसक्ने चर्चा भइरहेका बेला सरकारले वैकल्पिक योजना बनाएको नभएको उनले बताए ।

धौलागिरी क्षेत्रका पर्वत, बागलुङ र म्याग्दी जिल्लामा निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा सामग्री ढुवानीको अवस्थाबारे जानकारी लिँदै अर्थमन्त्री खनालले यदि हिमपातकै कारण मतदानस्थलमा प्रत्यक्ष असर पर्ने अवस्था आएमा मात्र तत्काल परिस्थितिअनुसार निर्णय गरिने बताए । सामान्य अवस्थालाई आधार बनाएर निर्वाचन सार्ने वा दोस्रो चरणमा लैजाने विषयमा सरकारभित्र कुनै औपचारिक छलफल नभएको उनले स्पष्ट पारे ।

‘फागुन महिनामा सामान्यतया मौसम सफा हुन्छ, सरकार एकैपटक निर्वाचन सम्पन्न गर्ने लक्ष्यमा प्रतिबद्ध छ,’ अर्थमन्त्री खनालले भने । उनका अनुसार तराई, पहाड र हिमाली सबै जिल्लामा तोकिएको समयमै मतपत्रसहित निर्वाचन सामग्री पुर्‍याउने तयारी तीव्र रूपमा अघि बढाइएको छ ।

सरकारले मौसम प्रतिकूल भएमा स्थानीय अवस्था मूल्याङ्कन गरी निर्णय गर्ने नीति अवलम्बन गरेको बताउँदै उनले मुख्य निर्वाचन अधिकृत कार्यालय, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र निर्वाचन कार्यालयलाई पूर्ण तयारीका साथ खटिन निर्देशन दिएको उल्लेख गरे ।

प्रकाशित : 5 February, 2026 3:27 pm