काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति र निजी संरचनामा आगजनी गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन् । बुधबार आफ्नो गृहजिल्ला झापामा ‘जेनजी’ आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका संरचनाहरूको अवलोकन गर्दै उनले यस्तो बताएका हुन् ।
सार्वजनिक सम्पत्ति, नगरपालिका कार्यालय र राजनीतिक कार्यकर्ताका घर जलाउने कार्य कानुनी रूपमा ठुलो अपराध भएको उनले उल्लेख गरे । अपराधिक गतिविधिलाई कुनै पनि बहानामा प्रोत्साहन गर्न नसकिने स्पष्ट पार्दै उनले अपराध रोकेर देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘राष्ट्रिय सम्पत्ति, सार्वजनिक संरचना र राजनीतिक कार्यकर्ताको घर-कार्यालय जलाउने कुरा अपराधिक गतिविधि हुन् । यस्ता अपराधलाई प्रोत्साहन गर्न सकिँदैन । अपराध रोक्नुपर्छ र शान्तिपूर्ण, बस्न लायक देश बनाउनुपर्छ । अरूको घर जलाएर उन्मुक्ति पाउन सकिँदैन, उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
वर्तमान अन्तरिम सरकारले अपराधीहरूलाई कारबाही गर्नुको साटो संरक्षण गरिरहेको आरोप पनि उनले लगाए । उनले भने, ‘अहिलेको सरकार सायद उनीहरूकै हो, त्यसैले उनीहरूलाई जोगाउने काम भइरहेको छ ।’
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न सोमबार झापा पुगेका अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तापछि उनले जिल्लाका विभिन्न स्थानमा भएका क्षतिको निरीक्षण गरिरहेका छन् ।







Comment