काठमाडौं । सर्वोत्तम स्टिलको कारोबार यस वर्ष उल्लेखनीय रूपमा बढेको छ। कम्पनीका अनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा व्यापार करिब पौने २ अर्ब रुपैयाँले बढ्दै २७ प्रतिशतको वृद्धिदर हासिल गरेको छ।
सन् २०२४ मा ६ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा सन् २०२५ मा यो रकम बढेर ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँ पुगेको छ।
यसअघि कम्पनीले सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो।
सौरभ ग्रुप अन्तर्गत सन् २०१७ मा स्थापित सर्वोत्तम स्टिल सन् २०२१ मा पब्लिक कम्पनीको रूपमा रूपान्तरण भएको हो। कम्पनीले सन् २०२२ देखि डण्डी, बिलेट र वायर उत्पादन तथा बिक्री गर्दै आएको छ। हाल उद्योग वार्षिक ७ लाख ६४ हजार १६० मेट्रिक टन उत्पादन क्षमतामा सञ्चालनमा रहेको जानकारी दिइएको छ।
कम्पनीको आम्दानीको मुख्य आधार डण्डी उत्पादन नै रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ। सन् २०२४ र २०२५ को कुल कारोबारमध्ये करिब ९० प्रतिशत हिस्सा डण्डीबाट आएको छ भने बाँकी आम्दानी बिलेट र बाइन्डिङ वायरमार्फत प्राप्त भएको छ।
गत आवमा कम्पनीले २.१९ प्रतिशत खुद नाफा कमाएको छ। कुल सञ्चित रकम १७ करोड ४० लाख रुपैयाँबाट बढेर हाल ४० करोड ९० लाख रुपैयाँ पुगेको छ। अध्यक्ष विष्णुप्रसाद न्यौपानेको नेतृत्वमा कम्पनीमा पाँच সদস্যीय सञ्चालक समिति रहेको छ।
कर्जा रेटिङका लागि कम्पनीले कुल ६ अर्ब ४४ करोड ४० लाख रुपैयाँ बराबरको राशि रेटिङ गराएको छ। जसअन्तर्गत १ अर्ब ३ करोड ४६ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि तथा ५ अर्ब ४१ करोड रुपैयाँ अल्पकालीन कर्जाको रेटिङका लागि समावेश गरिएको छ।





Comment