सिटिजन्स बैंकलाई पुनः अन्तर्राष्ट्रिय मान्यता, ‘बैंक अफ द इयर २०२५’ उपाधि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सिटिजन्स बैंकलाई पुनः अन्तर्राष्ट्रिय मान्यता, ‘बैंक अफ द इयर २०२५’ उपाधि



काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले यो वर्ष पनि प्रतिष्ठित ‘बैंक अफ द इयर २०२५’ अवार्ड हात पार्नेमा सफल भएको छ। लगातार दुई वर्षसम्म यस उपाधि जित्दै बैंकले गत वर्ष २०२४ मा प्राप्त सफलता दोहोर्याएको हो। फाइनान्सियल टाइम्स समूहअन्तर्गतको ‘द बैंकर’ पत्रिकाले प्रत्येक वर्ष वित्तीय प्रदर्शन, नवप्रवर्तन र दिगो विकासका आधारमा विश्वभरका उत्कृष्ट बैंकहरू छनोट गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ।

सन् १९२६ देखि प्रदान हुँदै आएको यो अवार्ड बैंकको मुनाफा, वित्तीय स्थायित्व, डिजिटल प्रविधि अपनत्व, सेवामा सुधार तथा हरित वित्तसम्बन्धी पहलजस्ता सूचकांकको मूल्यांकनमा आधारित हुन्छ। यस वर्षको मूल्यांकनमा सिटिजन्स बैंकले वित्तीय विस्तार, डिजिटल बैंकिङ सेवा, हरित बैंकिङका प्रयास तथा ग्राहक सेवा सुधारका कारण उत्कृष्ट ठहरिएको हो।

बैंकका अनुसार यो अवार्डले संस्थालाई डिजिटल रूपान्तरण र दिगो बैंकिङ प्रवर्द्धनमा थप ऊर्जा मिलेको छ। वातावरणमैत्री बैंकिङको लागि बैंकले सुरु गरेको ‘सिटिजन्स वातावरणीय कोड’ अभियान पनि मूल्यांकनमा महत्वपूर्ण मानिएको छ।

गत कात्तिकमा प्रकाशित चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २२ करोड ४ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ। गत वर्ष यही अवधिमा मुनाफा १९ करोड ८२ लाख २० हजार रुपैयाँ थियो, जसले बैंकको सञ्चालन क्षमता मजबुत बन्दै गएको संकेत गर्छ।

लन्डनमा सम्पन्न अवार्ड समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले पुरस्कार ग्रहण गर्दै ग्राहक–केन्द्रित सेवा र नवप्रवर्तनमा अझ सक्रिय हुने प्रतिबद्धता जनाए। बैंकका सीईओ गणेशराज पोखरेलले अवार्ड बैंक टिमको समर्पण र निरन्तर प्रयासको परिणाम भएको बताउँदै आगामी दिनमा सेवा अझ सरल, प्रभावकारी र विश्वसनीय बनाउन केन्द्रित रहने उल्लेख गरे।

गत वर्ष असोजमा प्रबलजंग पाण्डेको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएपछि बैंकको नाफा, ब्याज आम्दानी, वितरण योग्य मुनाफा तथा लाभांश क्षमता लगायतका सूचकांकमा उल्लेखनीय सुधार आएको जनाएको छ।

प्रकाशित : 4 December, 2025 8:19 am