एनआईसी एशिया बैंक र एनसीएचएलबीच नेपालपे कार्ड जारी गर्ने रणनीतिक सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया बैंक र एनसीएचएलबीच नेपालपे कार्ड जारी गर्ने रणनीतिक सम्झौता



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई NEPALPAY Card जारी गर्ने सम्बन्धमा नेपाल क्लियरीङ्ग हाउस लिमिटेडसँग रणनीतिक सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएल तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार, एनआईसी एशिया बैंक एनसीएचएलको राष्ट्रिय कार्ड स्वीचको प्रमुख साझेदार बनेको छ र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा अनुमत स्वदेशी कार्ड योजना अन्तर्गत NEPALPAY Card जारी गर्न सक्षम भएको छ।

यस कदमले बैंकलाई राष्ट्रिय भुक्तानी स्वीचमा पूर्ण रूपमा एकीकृत गराउनेछ र ग्राहकहरूलाई देशभरका POS र ATM नेटवर्क मार्फत स्वदेशी कार्ड प्रयोग गरेर कारोबार गर्ने सुविधा सुनिश्चित गर्नेछ। सम्झौतामा डिजिटल, भरपर्दो र राष्ट्रिय मापदण्ड अनुरूपको कार्ड सेवामा पहुँच सुनिश्चित गरिने उल्लेख छ।

बैंकले विश्वास व्यक्त गरेको छ कि NEPALPAY Card मार्फत डिजिटल भुक्तानीको प्रवर्द्धनले वित्तीय पहुँच विस्तार, सरल बैंकिङ्ग सेवा र नगदरहित अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

प्रकाशित : 1 December, 2025 3:38 pm