नेपाल बैंक लिमिटेड ८९औँ वर्षमा प्रवेश, डिजिटल रूपान्तरण र सुशासनलाई प्राथमिकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल बैंक लिमिटेड ८९औँ वर्षमा प्रवेश, डिजिटल रूपान्तरण र सुशासनलाई प्राथमिकता



नेपालको वित्तीय इतिहासमा महत्वपूर्ण स्थान ओगटाउँदै आएका नेपाल बैंक लिमिटेड (एनबीएल) स्थापना भएको ८८ वर्ष पूरा गरी आजदेखि ८९औँ वर्षमा प्रवेश गरेको छ। वि.सं. १९९४ साल कार्तिकमा स्थापना भएको एनबीएल देशको पहिलो वाणिज्य बैंकका रूपमा परिचित छ। यसले नेपालमा औपचारिक बैंकिङ सेवाको प्रारम्भ गर्नुका साथै स्वदेशी मुद्रा प्रचलनलाई सुव्यवस्थित बनाउन निर्णायक योगदान दिएको मानिन्छ।

प्रधानमन्त्री र अर्थमन्त्रीको बधाइ

बैंकको ८९औँ वार्षिकोत्सवका अवसरमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले शुभकामना व्यक्त गर्दै बैंकले आधुनिक सूचना–प्रविधि सँगै आफ्नो गौरवमय इतिहासलाई निरन्तरता दिई नेपाली जनताको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बैंकले सुशासन र सदाचारयुक्त राष्ट्र निर्माणको लक्ष्य आत्मसात् गर्दै समृद्ध अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार वित्तीय समावेशीकरण र साक्षरता अभिवृद्धिमा समेत बैंकले नेतृत्वदायी भूमिका खेलिरहेको छ।

सेवा विस्तार र सुदृढ संरचना

आरोह–अवरोहका बीच पनि नेपाल बैंक लिमिटेडले हाललाई प्रतिस्पर्धी बैंकिङ वातावरणमा आफूलाई सबल र प्रभावकारी संस्थाको रूपमा उभ्याउन सफल भएको छ। बैंकले हाल २३१ शाखा, ९१ एक्सटेन्सन काउन्टर, २३७ एटिएम तथा डिजिटल माध्यममार्फत देश–विदेशमा रहेका करिब २० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

बैंक व्यवस्थापनका अनुसार दक्ष र ऊर्जाशील जनशक्ति तथा सुधारिएको संस्थागत संस्कृतिका कारण पछिल्ला वर्षमा ग्राहक सेवामा उल्लेखनीय सुधार आएको छ।

चुनौती र भविष्यका प्राथमिकता

सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माका अनुसार संस्थागत सुशासनको सुनिश्चितता बैंकको मूल सर्त बनेको छ। बैंकका प्रमुख चुनौतीहरूमा डिजिटल सेवाको आधुनिकीकरण, कोषको लागत घटाउने, गुणस्तरीय कर्जा विस्तार तथा गैर–सम्पत्ति कर्जा (एनपीए) नियन्त्रण प्रमुख छन्।

बैंकले आगामी दिनमा अत्याधुनिक प्रविधिमा आधारित प्रतिस्पर्धात्मक सेवाहरू विस्तार गर्दै गुणस्तरीय, विश्वासिलो तथा आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, आर्थिक विकास, रोजगारी सिर्जना र वित्तीय प्रणाली सुदृढीकरणमा योगदान पुर्‍याउने लक्ष्य पनि बैंकले अघि सारेको छ।

प्रकाशित : 16 November, 2025 8:28 am