विद्युत् सम्झौताको नाममा करोडौंको लुट ? कुलमान र सिलवाल विवादको घेरामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विद्युत् सम्झौताको नाममा करोडौंको लुट ? कुलमान र सिलवाल विवादको घेरामा



काठमाडौं । जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी) मनोज सिलवाललाई तत्काल पदमुक्त गर्न माग गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा मन्त्री घिसिङ र एमडी सिलवालले ‘सेटिङ’ मार्फत विद्युत् खरिद सम्झौता गरेको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, “भारतको कम्पनी पीटीसी इन्डियासँग गरिएको विद्युत् खरिद सम्झौताले करिब ४३ करोड रुपैयाँ बराबरको घाटा राष्ट्रलाई हुने देखिएको छ, जसले देशको आर्थिक स्वाधीनतामाथि प्रत्यक्ष प्रहार गरेको छ।”

संगठनका अनुसार उक्त सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा विद्युत् नियमन आयोगको स्वीकृति विना गरिएको हो। यसलाई मुभमेन्टले भ्रष्टाचार र राष्ट्रिय हितविपरीतको कदमका रूपमा व्याख्या गरेको छ।

विज्ञप्तिमा मन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न तथा एमडी सिलवाललाई निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अनुसार छानबिन थाल्न माग गरिएको छ।

यस्तै, विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सबै विद्युत् सम्झौताहरू सार्वजनिक गर्न र राष्ट्रघाती सम्झौतामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने मुभमेन्टको माग छ।

प्रकाशित : 11 November, 2025 1:31 pm