पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरुको नाफा घट्यो, पाँच वाणिज्य बैंक मात्र अर्ब क्लबमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरुको नाफा घट्यो, पाँच वाणिज्य बैंक मात्र अर्ब क्लबमा



काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार, बैंकहरुको समग्र नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले घटेको देखिन्छ।

गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा २० वाणिज्य बैंकहरुले कुल १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए। तर चालु आर्थिक वर्षको सोही अवधिसम्ममा उक्त नाफा घटेर १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ। बैंकले असोज मसान्तसम्ममा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशतले बढी हो।

गत वर्ष सर्वाधिक नाफा कमाउने नबिल बैंक थियो भने यस वर्ष दोस्रो स्थानमा झरेको छ। नबिल बैंकले पहिलो त्रैमाससम्ममा १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच बैंक मात्र अर्ब क्लबमा प्रवेश गरेका छन्। जस अन्र्तगत ग्लोबल आइएमई बैंक, नबिल बैंक, प्राइम बैंक, एभरेष्ट बैंक र कुमारी बैंक रहेका छन् । गत वर्ष सोही अवधिसम्ममा आठ वाणिज्य बैंक अर्ब क्लबमा थिए। यसपटक प्रभु बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अर्ब क्लबबाट बाहिरिएका छन्।

एक वाणिज्य बैंक घाटामा पुगेको छ। सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २२ करोड ४ लाख रुपैयाँ घाटा बेहोरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफा वृद्धिदरका आधारमा राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा रहेको छ। बैंकले २९५.७२ प्रतिशतले नाफा बढाउन सफल भएको छ। गत वर्षको पहिलो त्रैमासमा १५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु वर्षको सोही अवधिसम्ममा ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ।

तर सबै बैंकको अवस्था समान छैन। समीक्षा अवधिमा १४ वाणिज्य बैंकहरुको नाफा घटेको देखिन्छ। तीमध्ये कृषि विकास बैंकको नाफा सबैभन्दा बढी ९६.९९ प्रतिशतले घटेको छ। बैंकले गत वर्षको पहिलो त्रैमासमा १९ करोड ९ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष सोही अवधिसम्ममा केवल ५७ लाख रुपैयाँ नाफा कमाएको छ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९६.९२ प्रतिशतले घटेको छ भने प्रभु बैंकको नाफा पनि ४६.३३ प्रतिशतले घटेको विवरणमा उल्लेख छ। यसरी, अधिकांश बैंकहरुको नाफा घटे पनि केही बैंकले स्थिरता कायम राख्न सफल भएका छन्।

प्रकाशित : 7 November, 2025 12:40 pm