पालिका अध्यक्ष भोलनद्वारा सरकारी गाडी फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

पालिका अध्यक्ष भोलनद्वारा सरकारी गाडी फिर्ता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

रामेछाप । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन गाउँपालिकामा फिर्ता गरेका छन् । उनले उक्त गाडी अबदेखि व्यक्तिगत प्रयोजनमा प्रयोग नगरी कार्यालयका नियमित काम र आपतकालीन प्रसूति सेवाका लागि मात्र प्रयोग गरिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

गाउँपालिकाको स्रोत र सम्पत्ति जनताको सेवाका लागि प्रयोग हुनुपर्ने भएकाले आफूले सो सुविधा त्यागेको उनले बताएका छन् । गाउँपालिकाका प्रमुम प्रशासकीय अधिकृतलाई सम्बोधन गरी उनले लेखेको पत्रमा भनिएको छ ।‘गाउँपालिकाको नाममा दर्ता रहेको बा २ झ ३६८० नम्वरको सरकारी डबल क्याप स्कार्पियो गाडी कार्यालय कामको प्रयोजनको लागि मैले प्रयोग गरिरहेकोमा हाल मुलुकमा आएको विद्यमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै कार्यालयको मातहतमा राखी कार्यालयको कामकाज तथा आपतकालीन प्रसूति सेवाको लागि मात्र प्रयोग गर्ने गरी आजको मितिबाट फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

नेपालका धेरै स्थानीय तहहरूमा प्रमुख तथा उपप्रमुखहरुले कार्यालय प्रयोजनका लागि उपलब्ध गराइएका सरकारी गाडीहरू व्यक्तिगत र पारिवारिक प्रयोजनमा दुरुपयोग गर्ने गरेको सार्वजनिक आलोचना हुँदै आएको छ । चाडपर्वका बेला टीका लगाउन, जन्ती जान वा घरायसी प्रयोजनमा प्रयोग हुने यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न स्थानीय तहमा नीति बने पनि व्यवहारमा प्रभावकारी रूपमा लागू हुन सकेको छैन ।

यस पृष्ठभूमिमा अध्यक्ष भोलनको कदम सकारात्मक प्रशासनिक अभ्यास र सुशासनको उदाहरणका रूपमा लिइएको छ । गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय नागरिकहरूले उनको निर्णयको स्वागत गर्दै यसले अन्य पालिकाका प्रमुखहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

घ्याङ्लेख गाउँपालिका सिन्धुली जिल्लाको उत्तरी भागमा अवस्थित दुर्गम स्थानीय तह हो। यहाँका अधिकांश बस्तीहरू सडक सञ्जाल र यातायात सुविधाबाट अझै पूर्ण रूपमा जोडिएका छैनन् ।

यस्तो क्षेत्रमा सरकारी सवारीसाधन आपतकालीन अवस्थाको लागि उपयोगी हुने भएकाले अध्यक्ष भोलनको निर्णयलाई स्थानीयले सेवामुखी र व्यवहारिक कदमका रूपमा लिएका छन् ।

प्रकाशित : १७ कार्तिक २०८२, सोमबार १२:०७ 3 November, 2025 12:07 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।