अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्दाबीच वासिङ्टनमा भेटवार्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्दाबीच वासिङ्टनमा भेटवार्ता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले असोज ३० गते एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरेका छन्।

भेटमा अर्थमन्त्री खनालले एशियाली विकास बैंकले खासगरी पूर्वाधार विकासका क्षेत्रमा नेपाललाई लामो समयदेखि गर्दै आएको योगदानको चर्चा गरे। उनले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि लगानीयोग्य वातावरण बनाउन दृढ रहेको बताए।

यसका साथै एसियाली विकास बैंकको लगानीमा हाल निर्माण भएका ठूला पूर्वाधार आयोजनाबारे उल्लेख गर्दै खनालले अध्यक्ष कान्दालाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरे।

अध्यक्ष कान्दाले नेपालमा भएको राजनीतिक परिवर्तन र सुशासन कायम गर्ने विषयमा जिज्ञासा राखेका थिए। उनले उपयुक्त समयमा नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको पनि बताए।

अर्थमन्त्री खनालले आजै विश्व बैक र अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एसियाली समुहको गभर्नरहरुको बैठकमा बोल्दै नेपालमा जलविद्युत उत्पादन र सूचना प्रविधि पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरे। विकास आयोजनाको कार्यान्वयनमा ढिलाइ भएको चर्चा गर्दै खनालले विश्व बैंकलाई आयोजना कार्यान्वयनका मापदण्ड र निर्देशिकालाई थप सरल बनाउन सुझाव दिए।

मन्त्री खनालले वित्तीय क्षेत्रको स्थायित्वका लागि तयार गरिने विश्वव्यापी मापदण्ड बनाउन आवश्यक भएपनि कार्यान्वयनका क्रममा कुनै देश विशेषको स्थानीय आवश्यकता र परिवेशलाई पनि उत्तिकै ध्यान दिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आग्रह गरे। सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो।

प्रकाशित : ३० आश्विन २०८२, बिहिबार १२:५१ 16 October, 2025 12:51 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।