महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै नव उद्यम कर्जा योजना सञ्चालनमा ल्याएको छ। विदेशमा काम गरेर फर्किएका व्यक्तिहरूलाई आत्मनिर्भर उद्यमी बनाउन सहयोग गर्ने उद्देश्यसहित आकर्षक र प्रतिस्पर्धी ब्याजदरमा यो कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।
विदेशमा कार्यरत हुँदा आर्जित सीप, अनुभव र केही बचत रकम भए पनि पर्याप्त पूँजी अभावका कारण आफूले चाहेको व्यवसाय सुरु गर्न नसकेका युवालाई लक्षित गर्दै यस्तो योजना ल्याइएको हो। कृषि, व्यापार, सेवा र उत्पादनमा आधारित व्यवसाय सञ्चालनमार्फत उद्यमशीलता प्रवर्द्धन गर्न सकिने लक्ष्य बैंकले लिएको छ।
यस कर्जा योजनाअन्तर्गत न्यूनतम १० लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्म ऋण सुविधा उपलब्ध हुनेछ। कर्जाको अवधि न्यूनतम २ वर्षदेखि अधिकतम १५ वर्षसम्म रहने व्यवस्था गरिएको छ। यसले नेपाल फर्किएका युवालाई आत्मनिर्भर बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न, उद्यमशीलता प्रवर्द्धन गर्न र विप्रेषणमार्फत आउने रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।
यस्तो सुविधा विदेश फर्किएका मात्र नभई नेपालमै रहेका व्यक्तिहरूले पनि साना तथा मझौला उद्योग व्यवसाय सञ्चालन र विस्तार गर्न लिन सक्ने व्यवस्था गरिएको छ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नाराका साथ महालक्ष्मी विकास बैंकले विगत ३१ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। देशभर करिब ८ लाखभन्दा बढी ग्राहक रहेको यस बैंकले ग्रामीणदेखि शहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै आर्थिकीमा योगदान पुर्याइरहेको छ।





Comment