कांग्रेस सभापति देउवाका सालो भूषण राणाको घरमा प्रहरीको छापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कांग्रेस सभापति देउवाका सालो भूषण राणाको घरमा प्रहरीको छापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सालो भूषण राणाको ललितपुरको जावलाखेलस्थित निवासमा प्रहरीले छापा मारेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोर स्थानीय प्रहरीको संयुक्त टोलीले सोमबार राति राणाको घरमा पुगेर घेराबन्दी गर्दै घरभित्र व्यापक खानतलासी गरेको हो। प्रहरी स्रोतका अनुसार, केही सामग्रीहरू पनि बरामद गरिएको बताइएको छ।

यो छापा देउवा निवासमा भदौ २४ गते राति लागेको आगलागीपछिको घटनाक्रमसँग जोडिएको बताइएको छ। आगलागीपछि घरबाट केही महत्वपूर्ण सामग्री, सम्भवतः नगद रकम, गाडीमार्फत अन्यत्र स्थानान्तरण गरिएको आशंका प्रहरीले गरेको छ। सोही रकम राणाको घरमा लुकाइएको हुनसक्ने अनुमानमा प्रहरीले छापा मारेको हो।

भूषण राणा देउवाकी पत्नी आरजु राणासँग नजिक रहँदै आएका छन् र विगतमा उनका विभिन्न व्यवसायिक लेनदेनमा प्रतिनिधिको भूमिकामा सक्रिय रहेको आरोप लाग्दै आएको छ। यिनै कारणले प्रहरीले गोप्य सूचनाका आधारमा राणाको घरमा अनुसन्धान थालेको बुझिएको छ।

प्रहरीले हालसम्म छापाबाट के–के बरामद भयो भन्नेबारे औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन। अनुसन्धान अझै जारी रहेको जनाएको छ।

प्रकाशित : 29 September, 2025 7:36 am