पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, संसद विघटनबारे मतभेद कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, संसद विघटनबारे मतभेद कायमै



काठमाडौं । अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा प्रमुख राजनीतिक दलहरूबीच प्रारम्भिक सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा बिहीबार मध्यरातसम्म भएको सघन छलफलपछि कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णयतर्फ सहमति भए पनि संसद् विघटन गर्ने कि नगर्ने विषयमा भने एकमत हुन सकेन।

राष्ट्रपति कार्यालय शीतलनिवासमा रातभर चलेको वार्ता निष्कर्षविहीन रह्यो। जेनजी (नागरिक आन्दोलन पक्ष) का प्रतिनिधिहरू संसद् विघटनबिना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडानमा रहे भने पुराना दल र राष्ट्रपति पौडेल संसद् कायम राखेरै राजनीतिक निकास खोज्ने पक्षमा उभिएका थिए।

शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति पौडेल संसद् विघटन नगर्ने दृढ अडानमा छन्। कांग्रेस र एमाले पनि संसद् विघटनको विरोधमा उभिएका छन्।

यद्यपि राष्ट्रपति पौडेल गतिरोध लामो समय नलम्ब्याउने पक्षमा देखिएका छन्। उनले शुक्रबारमै कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावनाबारे सकारात्मक संकेत दिएका छन्। यसअघि पौडेल संसदमा रहेका राजनीतिक दलबाहेकका शक्तिहरूलाई समावेश नगरी निर्णय गर्न नहुने भनाइमा अडान राख्दै आएका थिए। तर जेनजीको दबाब, सडकमा बढ्दो असन्तोष र सम्भावित संकटलाई मध्यनजर गर्दै तत्कालै समाधान खोज्नुपर्नेमा सहमति देखाएका हुन्।

स्रोतका अनुसार, राष्ट्रपतिले यस विषयमा प्रमुख दलका शीर्ष नेता र प्रतिनिधि सभाका सभामुखसँग रायसुझाव लिएर अन्तिम निर्णयतर्फ अघि बढेका छन्।

प्रकाशित : 12 September, 2025 7:40 am