सत्ता संकट गहिरिँदै, ओली–देउवा दुवै अनिर्णयमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सत्ता संकट गहिरिँदै, ओली–देउवा दुवै अनिर्णयमा



काठमाडौँ ।मुलुकमा बढ्दो जनआन्दोलनका कारण राजनीतिक संकट गहिरिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवै पक्षले सत्ता छोड्ने वा समर्थन फिर्ता गर्ने विषयमा स्पष्ट निर्णय लिन सकेका छैनन्।

श्रीलंका र बंगलादेशमा जस्तै शासकहरूलाई पदत्याग गर्न बाध्य पारेको जस्तो परिस्थिति सिर्जना भए पनि प्रधानमन्त्री ओलीले राजीनामा दिन अस्वीकार गरेका छन्। उनले आफ्ना निकट नेताहरूसँगको छलफलमा स्थिति अझै नियन्त्रणमा रहेको दाबी गर्दै तत्काल पदत्यागको आवश्यकता नरहेको बताएका स्रोतले जनाएको छ।

यसैबीच, नेपाली कांग्रेसभित्र भने आन्तरिक मतभेद गहिरिँदै गएको छ। पार्टीका धेरै नेताहरूले वर्तमान सरकारसँगको गठबन्धन तोड्न दबाब दिइरहेका छन्। केही मन्त्रीहरूले त राजीनामा दिएर सरकार छाडिसकेका छन्। तर सभापति देउवा भने अझै समर्थन फिर्ता लिन हिचकिचाइरहेका छन्।

देउवाको नजिकका केही नेताहरूले अहिले सरकार छोड्नु भन्दा संकट समाधानका लागि सहमतिको बाटो खोज्नु उपयुक्त हुने तर्क गरेका छन्। तर पार्टीभित्रको अर्को धारणा अनुसार, देउवा एमालेसँगको सत्ता साझेदारी सम्झौता अनुसार आगामी असारमा प्रधानमन्त्री बन्ने सम्भावनाले आकर्षित छन्। सम्झौता अनुसार ओलीले त्यतिबेला सत्ता देउवालाई हस्तान्तरण गर्नुपर्नेछ।

यता आन्दोलनले संविधानको दायराभन्दा बाहिर गएर समाधान खोज्नुपर्ने अवस्था निम्त्याइरहेको छ। आन्दोलनको लहर अझै तीव्र बन्दै गए पनि ओली र देउवा दुवै जनताको असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसकेका कारण राजनीतिक अस्थिरता झन् बढ्ने देखिएको छ।

विश्लेषकहरूका अनुसार, यदि तत्काल ठोस राजनीतिक सहमति हुन सकेन भने मुलुक गम्भीर संकटतर्फ धकेलिन सक्ने खतरा बल्झिँदै गएको छ।

प्रकाशित : 9 September, 2025 1:31 pm