प्रतिस्पर्धी बजारमा सिटिजन लाइफको अलग स्थान,रेटिङमा सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रतिस्पर्धी बजारमा सिटिजन लाइफको अलग स्थान,रेटिङमा सुधार



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इश्युअर रेटिङमा सुधार भएको छ। इक्रा नेपालले कम्पनीको रेटिङ ‘आइसीआरए एनपी–आइआर ट्रिपल बी’ बाट ‘आइसीआरए एनपी–आइआर ट्रिपल बी प्लस’ मा उकासेको हो।

रेटिङ उकासिनुमा कम्पनीको निरन्तर व्यवसायिक वृद्धि मुख्य कारण रहेको बताइएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको बीमा प्रिमियम आम्दानी करिब २१ प्रतिशतले बढेको छ, जुन उद्योगको औसत वृद्धि (१४ प्रतिशत) भन्दा उच्च हो। यसले कम्पनीको वित्तीय हैसियत र सोल्भेन्सी प्रोफाइलमा उल्लेखनीय सुधार ल्याएको छ।

२०२३ मा सार्वजनिक शेयर (IPO) जारी गरेपछि कम्पनीको सोल्भेन्सी रेसियो २०२४ जुलाईमा ३.४२ गुणा पुगेको छ। यो दर नियामक निकायले तोकेको न्यूनतम १.३० भन्दा धेरै माथि रहेको छ। गत वर्ष यो अनुपात १.३५ गुणा मात्र थियो।

कम्पनीको करिब ९० प्रतिशत पोर्टफोलियो एन्डाउमेन्ट योजनामा आधारित छ, जसलाई स्थायी र दीर्घकालीन व्यवसायिक संरचना मानिन्छ। साथै, करिब ८३ प्रतिशत लगानी फिक्स्ड डिपोजिट र डेबेन्चरमा गरिएको छ, जसलाई सुरक्षित मानिन्छ।

रिइन्स्योरेन्सको व्यवस्था पनि सन्तोषजनक छ, जसले ठूलो प्राकृतिक विपद् जस्ता जोखिममा पनि दाबी भुक्तानीमा विश्वसनीयता सुनिश्चित गरेको छ।

२०२५ अप्रिलसम्म सिटिजन लाइफसँग १३६ शाखा नेटवर्क र सशक्त एजेन्सी च्यानल छन्। अनुभवी व्यवस्थापन टोली र बलियो बजार रणनीतिका कारण कम्पनीले १४ जीवन बीमा कम्पनीबीच प्रतिस्पर्धामा आफ्नो पहिचान कायम राखेको छ।

सन् २०१७ अक्टोबरदेखि सञ्चालनमा आएको यो कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको थापाथलीमा छ। २०२५ अप्रिलसम्म कान्तिपुर पब्लिकेशन्स प्रालिसहित विभिन्न प्रवद्र्धक तथा साधारण शेयरधनीको अनुपात ७०ः३० रहेको छ

प्रकाशित : 4 September, 2025 7:46 am