पाँचतारा साकोसमा बचत सुरक्षित छ, विश्वास कायम छ: राधा कडरिया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

पाँचतारा साकोसमा बचत सुरक्षित छ, विश्वास कायम छ: राधा कडरिया



पाँचतारा सहकारीको अवस्था कस्तो छ ?

अहिले समग्र सहकारीको अवस्था अलिकति सुध्रेको जस्तो लाग्छ । हिजोको दिनमा अलिकति अप्ठ्यारै भयो । अप्ठ्यारो हुनुमा पनि विभिन्न कारणहरु छन्। अहिले आएर राज्यले पनि यसलाई ध्यान दिएको र कानुनी कुराहरु पनि कार्यान्वयनतिर अघि बढेको हुनाले केही सुध्रिएको छ । केही व्यवस्थित भएको जस्तो अनुभव हुन्छ। समग्रमा भन्नुपर्दा पाँच तारामा अहिले ठिकै छ। अब कारोबारको हिसाबले हिजोको दिनको भन्दा आज ब्यालेन्स सिटको अमाउन्ट पनि बढेको छ । सदस्यहरुको ट्रान्जेसन पनि अहिले बढेकै छ। यसपाली झन्डै ब्यालेन्स सिट बढेर १८ करोड पुग्यो । अब लगानी गरेको हेर्ने हो भने सबै सदस्यहरुमा व्यावसायिक हिसाबले अलिकति अप्ठ्यारो त छँदै छ । हामीलाई यो लगानी गरेको कर्जाको चाहिँ ब्याज किस्ता जुन सिस्टममा उठ्नु पर्ने हो त्यो भनेजस्तो उठ्न सकेको छैन। तर अरु टोटल हिसाबमा हेर्ने हो भने हाम्रो संस्थामा त्यति खासै त्यस्तो असर असर गरेन।

सहकारी क्षेत्रमा चुनौती देखिएको छ। त्यो चुनौतीहरुलाई मध्यनजर गर्दै तपाईहरुको सहकारीमा सदस्यहरुको बचत सुरक्षित छ भनेर कसरी विश्वास दिलाइराख्नु भएको छ ?

अब सहकारी संचालन गर्ने अवस्थामा एउटा नीति विधि र प्रविधि भन्ने हुन्छ । यसलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्न सक्यो भने खासै समस्या आउँदैन। सदस्यहरुसँग नै विभिन्न सहकारी शिक्षा कार्यक्रमदेखि सदस्यहरुलाई सहकारी भनेको हामी नै हो । यसको सेयर होल्डर हामी नैं हौँ, हाम्रै लगानी हो भन्ने खालको विश्वास दिलाउन सक्नुपर्छ । सदस्यसंग एकदम नजिक हुनुपर्छ। हाम्रो संस्थाले कार्यक्रमहरु पनि त्यस्तै खालको गरिराखेकै छौँ। त्यसैले नै होला सदस्यहरुले त्यस्तो हाम्रो बचत नै डुब्ला राखेको पैसा सुरक्षित छैन होला भन्ने खालको त्यस्तो व्यवहारमा र बोलीमा देखाउनुभएको जस्तो लाग्दैन । अहिलेसम्मको हिसाब हेर्दा सदस्य वृद्धि पनि भैरहेको छ । १० प्रतिशत सदस्यता बृद्धि गर्नुपर्ने भन्ने त छ तर १० प्रतिशत नभए पनि ६ प्रतिशतको रेसियोमा सदस्यता वृद्धि पनि भइरहेका छन् ।

अब निक्षेप संकलन, लगानी त्यही अनुसारको छ। अब सानो पैसाले काम नगर्ने ठूलो पैसाको आवश्यक हुने सदस्यलाई र ठूलो पैसा लगानी गर्दा उपयुक्त धितो, उपयुक्त पैसा तिर्ने आधार जुन चाहिनुपर्ने हो । त्यो स्रोतहरुमा केही न केही कमी कमजोरी त छ । त्यसले गर्दा अलिकति हामीले सोचेजस्तो त छैन सदस्यहरु। उनीहरुको वास्तविक हामी यो मिसनमा छौँ, यो कारणले हाम्रो यस्तो छ भनेर उहाँहरु उपस्थित भएर सबै कुराहरु हामीसँग चाहिँ सेयर गर्नुहुन्छ । त्यसैले सदस्यहरुले ढुक्क साथ पाँच तारा साकोसमा बचत सुरक्षित हुन्छ भन्ने अनुभव लिनु भएको छ ।

अहिले सहकारी नियमक प्राधिकरण र सरकारको तर्फबाट आएको निर्देशन तथा मापदण्डलाई तपाईहरुले कस्तो रुपमा कार्यान्वयन गर्दै आउनुभएको छ ?

अहिलेको जुन निर्देशन छ त्यो सय प्रतिशत पालना गर्न सकियो भने त धेरै राम्रो हुन्छ । अहिले सहकारीमा राज्यले अलि चासो नदिँदा झन्डै सिद्धि नै सकेको अवस्था पनि हो । तर अब यो कार्यान्वयन हुनुभनेको सदस्यलाई सचेत गराउन, सदस्यलाई सहकार्यमुखी बनाउन हामीले व्यवस्थापन गर्नु पर्ने हो । तर समय लाग्छ सरकारले एउटा अहिले पोलिसी ल्याएको छ त्यो त कार्यान्वयन गराउनुपर्छ। यसमा हामीलाई अलिकति चुनौतीहरु पनि छन् । पहिला राज्यले गर्नुपर्ने समयमा ढिला सुस्ती भयो। त्यसले गर्दा केही गाह्राको अवस्था छ । तर बिस्तारै बिस्तारै यो व्यवहारमा लागू हुन्छ । हामीले पहिलादेखि नै नीति विधि प्रविधिका कुरालाई ध्यानमा राखेर संस्था संचालन गर्दै आएका छौँ। त्यसले गर्दा यो कुराले खासै असर गर्दैन।

तपाइहरुको संस्थामा अहिले ऋण असुलीको अवस्था कस्तो छ ?

एकदम सन्तोषजनक छ। हामी एकदम पूर्ण रुपमा ढुक्क हुने अवस्था छैन । तर जसरी तिर्नु पर्ने हो सदस्यहरुले तिर्न हरेक कारण देखाउने गर्दथ्ये जस्तो कोभिडको कारण , भूकम्प भनेर आयो, त्यसपछि आर्थिक मन्दी भनेर आयो। अब देशमै एउटा आर्थिक मन्दी त हरेक क्षेत्रमा छ । त्यसले गर्दा हाम्रो सदस्यहरुको लगानीले गरेको जुन व्यवसायबाट आउनुपर्ने प्रतिफल हो त्यसमा केही न केही हस त देखिएको छ । तर पनि इमान्दारीका साथ उहाँहरुले धेर थोर तिरेभने सकारात्मक लिनुपर्छ। त्यति खुश हुने अवस्था त छैन तरपनि सन्तोषजनकै छौँ ।

सदस्यहरुलाई आश्वस्त पार्न संस्थाले के कस्तो कार्यक्रमहरु गरिराखेको छ ?

समुदाय बेसमा छौँ हामी । आजको दिनमा तोकिएको कार्यक्षेत्र भित्र बसोबास गर्ने स्थायी वा अस्थायी रुपमा बसोबास गर्नुहुने सदस्यहरुलाई सदस्यता दिने छँदै छ। त्यसमा विभिन्न कार्यक्रमहरु जस्तो सहकारी शिक्षा कार्यक्रमहरु बेलाबेला गरिरहेका छौ। हरेक संस्थामा भएका अप्ठ्यारा दुःख सुख सदस्य बिचमा नै बसेर हामी कार्यक्रम गरि नै राखेका हुन्छौँ, उहाँहरुलाई भनिराखेका हुन्छौँ। हामी यो अवस्थामा छौँ, हामी यसरी जानुपर्छ। सदस्य भैसकेपछि पैसा राख्ने र झिक्ने मात्रै नभएर सदस्यको पनि एउटा जिम्मेवारी हुन्छ। यसमा विभिन्न समिति उपसमितिहरु गठन भएका छन् । त्यो गठनमा उहाँहरुलाई विभिन्न खालको जिम्मेवारी बाँडफाँड गरेका छौँ। त्यो जिम्मेवारी दिएपछि त्यो कार्यान्वयन भयो कि भएन भन्ने खालको बजेट मै हामीले राखेका छौँ । हाम्रो समिति उपसमितिलाई वार्षिक कार्ययोजनानै छ । त्यसमा वर्ष दिनभरिमा कुन समितिले के काम गर्ने, कस्तो गर्ने जस्तो शिक्षा समितिले के गर्ने, महिला उपसमिति छ त्यसले के गर्ने । युवा समिति भनेर पनि गठन गरेका छौँ। १६ वर्षदेखि माथिको ३५ वर्ष भित्रको युवा समिति छ । त्यो समितिले सम्पूर्ण युवाहरुको भावना समेटेर खेलकुददेखि हाजिर जवाफदेखि सहकारी क्षेत्र भित्र पर्ने सहकारी शिक्षासम्मका काम त्यसले गर्छ।

प्रकाशित : 4 September, 2025 7:16 am