बैंकमा तरलता बढेसँगै अटो लोनमा प्रतिस्पर्धा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकमा तरलता बढेसँगै अटो लोनमा प्रतिस्पर्धा



काठमाडौं । ब्याजदर न्यून बिन्दुमा रहेर पनि अर्थतन्त्र विस्तार नहुँदा बैंक तथा वित्तीय संस्थामा ठूलो परिमाणमा तरलता थुप्रिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल ६ खर्ब ५६ अर्ब रुपैयाँभन्दा बढी तरलता केन्द्रीय बैंकमा जगेडा भएको छ।

तरलता बढेसँगै बैंकहरूले सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्दै उपभोक्तालाई आकर्षित गर्न थालेका छन्। यसैबीच नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको अटो शोमा सहभागी बैंकहरूले प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा (अटो लोन) अफर ल्याएका छन्।

कर्जा सीमा र सुविधा

राष्ट्र बैंकले सवारीसाधन खरिदका लागि अधिकतम मूल्यको ६० प्रतिशतसम्म मात्र कर्जा दिन पाउने व्यवस्था गरेको छ। यो सीमा निजी प्रयोजनका सवारीसाधनसँगै विद्युतीय गाडीमा पनि लागू हुन्छ।

यद्यपि बैंकहरूले ब्याजदर र सेवा शुल्कमै सहुलियत दिएर उपभोक्ता आकर्षित गर्ने रणनीति लिएका छन्। हाल अधिकांश बैंकहरूले सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिएका छन् भने ब्याजदर ६ देखि ८ प्रतिशतबीच निर्धारण गरेका छन्। कर्जा अवधि भने प्रायः ५ देखि ७ वर्षसम्म हुने व्यवस्था गरिएको छ।

बैंकका योजना

नाडा अटो शोमा आधा दर्जन वाणिज्य बैंकहरूले स्टल राखी आफ्ना आकर्षक अफर सार्वजनिक गरेका छन्।

कृषि किवास बैंकले व्यक्तिगत विद्युतीय गाडीमा मूल्यको ६० प्रतिशत र व्यावसायिक गाडीमा ८० प्रतिशतसम्म कर्जा दिने योजना ल्याएको छ। बैंकले न्यूनतम ६.२३ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ।

ग्लोबल आइएमई बैंकले ६.९९ प्रतिशत ब्याजदरमा कर्जा दिँदै सेवा शुल्क ०.५ प्रतिशतबाट घटाएर ०.२५ प्रतिशतमा झारेको छ।

लक्ष्मी सनराइज बैंकले अटो शो लक्षित गर्दै १४ मंसिरसम्म लागू हुने गरी ७ वर्षका लागि ७.९९ प्रतिशत फिक्स्ड ब्याजदरमा मूल्यको ६० प्रतिशत कर्जा दिने घोषणा गरेको छ।

सानिमा बैंकले ७ वर्षका लागि ८.१५ प्रतिशत र ५ वर्षका लागि ७.९९ प्रतिशत ब्याजदर तोकेको छ। यसबाहेक बैंकले आईसी इन्जिन गाडीमा ५० प्रतिशत र विद्युतीय गाडीमा ६० प्रतिशतसम्म कर्जा दिने जनाएको छ।

हिमालयन बैंकले ६० प्रतिशत फाइनान्सिङसहित ०.२५ प्रतिशत सेवा शुल्क छुट र ७.५ प्रतिशत ब्याजदरको योजना ल्याएको छ।

नबिल बैंकले विद्युतीय गाडीमा ६.७४ प्रतिशत ब्याजदरमै ७ वर्षका लागि कर्जा दिने जनाएको छ। बैंकले ऋणीको मासिक आम्दानी किस्ताको दोब्बर हुनुपर्ने शर्त पनि राखेको छ।

नेपाल एसबीआई बैंकले कर्जाको अवधिका आधारमा ब्याजदर फरक तोकेको छ— ३ वर्षका लागि ७.९९ प्रतिशत, ५ वर्षका लागि ८.४९ प्रतिशत र ७ वर्षका लागि ८.९९ प्रतिशत।

एनएमबि बैंकले आईसी इन्जिन गाडीमा आधार दरमा ४.५ प्रतिशत प्रिमियम थपेर कर्जा दिने जनाएको छ भने विद्युतीय सवारीमा ७.१३ प्रतिशत ब्याजदर तोकेको छ।

बैंकिङ प्रणालीमा बढ्दो तरलताका कारण अटो लोनमा प्रतिस्पर्धा चर्किएको छ। ग्राहकलाई सहज र सस्तो कर्जा उपलब्ध गराउन बैंकहरूले ब्याजदरमा कटौती र सेवा शुल्कमा छुट दिएका छन्। नाडा अटो शो यसैको प्रमुख मंच बनेको छ।

प्रकाशित : 21 August, 2025 8:03 am