काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म दुई अर्ब एक करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक अर्ब चार करोड ५१ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत वर्ष उल्लेख्य वृद्धि गर्दै नाफा झन्डै दोब्बर पारेको हो।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफामा देखिएको ९२.४५ प्रतिशत वृद्धिको प्रमुख कारण बैंकको खुद ब्याज आम्दानी र फि तथा कमिशन आम्दानीमा वृद्धि हुनुका साथै इम्पेरमेन्ट चार्जमा गिरावट आउनु हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेको छ भने फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशतले बढेको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९९.९१ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा एक अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा एक अर्ब सात करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ।
११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा सात अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।





Comment