नेपालको रेस्टुरेन्ट बजार गत दशकमा तीव्र रुपमा परिवर्तन भइरहेको छ। खानाको संस्कार ‘घरमै पकाएर खाने’ बाट ‘बाहिर खाएर रमाउने’ बाटोतिर विकसित हुँदैछ। यसै क्रममा फरक स्वाद, मौलिकता र अन्तर्राष्ट्रिय अनुभवको संगम बनाएको छ, जिम्बु थकालीले।
जिम्बु थकालीका कर्पोरेट सीईओ प्रभु शरण थापा, जसले विगत साढे तीन वर्षदेखि यो ब्रान्डलाई नेतृत्व गर्दै आएका छन्, हस्पिटालिटी क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव बोकेका छन्। हायतदेखि अन्तर्राष्ट्रिय मल्टिनेसनल कम्पनीसम्ममा काम गरेका थापा नेपाल फर्किएपछि होटल ले हिमालयको जनरल म्यानेजर हुँदै विभिन्न प्रबन्धकीय जिम्मेवारी सम्हाल्दै अन्ततः जिम्बुमा आए।

थकाली खानाको आत्मा : आमाको रेसिपी
“जिम्बु थकालीलाई बुझ्नु भनेको घरमै आमाले पकाएको स्वाद सम्झनु हो,” थापा भन्छन्। जिम्बुको सबैभन्दा ठूलो विशेषता भनेको यसको मदर रेसिपी हो। ब्रान्डका चेयरम्यान विवेकमान सेरचनकी आमाबाट आएको यो रेसिपीले मौलिक स्वादलाई कायम राख्दै आधुनिक ढंगले प्रस्तुत गर्छ।
जिम्बु थकालीलाई फरक बनाउने अर्को कुरा यसको दुई प्रकारका क्युइजिन स्वाद हो – थकाली खानासँगै कन्टिनेन्टल खाना। यसको अवधारणा विवेक सर अमेरिकामा काम गर्दा आएको अनुभवबाट आएको हो, जसले वाइ क्यापिटल ग्रिल नामक युरोपियन कन्टिनेन्टल कन्सेप्टलाई जिम्बुसँग एकीकृत गर्यो। त्यसैले यसको आधिकारिक नाम पनि जिम्बु थकाली वाइ क्यापिटल ग्रिल हो।

मौलिक स्वाद, स्थानीय स्रोत
थकाली खानामा प्रयोग हुने मसला, दालजस्ता धेरै सामग्रीहरू मुस्ताङदेखि आपूर्ति हुन्छन्। स्थानीय सप्लायरलाई प्राथमिकता दिइएकाले खाना केवल स्वादिलो मात्र नभई मौलिक पनि रहन्छ।
जिम्बु थकाली थाली सेटमा चिकेन, मटन, फिस र ढिडो थाली विशेष रूपमा सर्भ गर्दै आएको छ। यसका अतिरिक्त चिकेन, मटन, फिस, अम्मलेट, भुटन, एग करी लगायतका साइड डिशहरू पनि उपलब्ध छन्। आधुनिक स्वाद खोज्ने ग्राहकका लागि मःमः, एपिटाइजर, सलाद, सुप, पिज्जा, पास्ता, बर्गर र स्यान्डविच समेत मेनुमा समावेश छन्।
रेस्टुरेन्टका संस्थापक विवेक शेरचन १५ वर्ष अमेरिका बसेर फर्किएका हुन्। अमेरिकामा होटल क्षेत्रमा काम गर्दै अनुभव बटुलेका उनले स्वदेश फर्किएपछि आफ्नो पुर्ख्यौली थलो मुस्ताङको थाक खोलाबाट प्रेरित भई व्यवसाय सुरु गरे।
सुरुवातमा उनले क्यापिटल ग्रिल रेस्टुरेन्ट सञ्चालन गरे। भूकम्पपछि टंगालमा स्थानान्तरण गर्दै उनले थकाली परिकारलाई प्राथमिकतासहित प्रवर्द्धन गर्न थाले। आज जिम्बु थकाली काठमाडौं उपत्यकामा चर्चित र विश्वासिलो नामको रूपमा स्थापित भइसकेको छ।
मानव स्रोत र बजार चुनौती
“रेस्टुरेन्ट बजार अहिले धेरै राम्रो छ,” थापा भन्छन्। “तर मानव स्रोत ठूलो चुनौती हो। युवा, विशेष गरी २५ वर्षमुनिका, काममा राख्न सजिलो हुन्छ तर दुई वर्षमै विदेश जान्छन्। यसले स्टाफ टर्नओभर बढाउँछ। एक हिसाबले खुसी पनि लाग्छ, किनकि उनीहरूले यहाँ सिकेको सीप विदेशमा प्रयोग गर्दै जीवन सुधार्छन्।”
नीतिगत हिसाबले पनि चुनौती छन्। जिम्बुले विगत वर्षमै ‘सबैभन्दा बढी कर तिर्ने रेस्टुरेन्ट’को मान्यता पाएको छ। तर थापाको भनाइमा, कर तिर्ने व्यवसायलाई सहज बनाउने राज्यको नीतिगत सहयोग अझै आवश्यक छ।
मूल्य र ग्राहक अनुभव
केहीले मूल्य महँगो भएको टिप्पणी गरे पनि, थापाले तथ्याङ्क राख्छन् – “हामीसँगै सात प्रतिस्पर्धी रेस्टुरेन्टमध्ये जिम्बुको मूल्य सबैभन्दा कम छ। हाम्रो लक्ष्य मिडल क्लासदेखि उच्च वर्गसम्मलाई सेवा दिनु हो।”
ग्राहक अनुभवका हिसाबले पनि जिम्बु अग्रस्थानमा छ। ट्रिप एडभाइजरमा नम्बर १ स्थानमा रहँदै, कस्टुमर च्वाइस अवार्ड जित्नु यसको प्रमाण हो।
चार शाखा र १ सय ८० लाइ रोजगारी
जिम्बुको चार शाखा छन् – टंगाल (पायोनियर, ८ वर्ष), झम्सीखेल (५ वर्ष), बानेश्वर (३.५ वर्ष) र नयाँ कालिमाटी (१० महिना) कालिमाटी शाखा आफ्नै जग्गामा हो भने अन्य लिजमा सञ्चालन छन्। दैनिक ५ सय जनाभन्दा धेरैलाई सेवा दिँदै आएको जिम्बु थकालीले १८० जनालाई रोजगार दिइरहेको छ।
थापा भन्छन्, “हाम्रो चेयरम्यान विवेक सरले अमेरिकामा कमाएको अनुभव नेपालमै ल्याएर रोजगारी सिर्जना गर्नु प्रेरणादायी हो। धेरैजना विदेश जान्छन्, उहाँजस्तो फर्केर लगानी गर्ने थोरै मात्र भेटिन्छन्।”
भविष्य र प्रतिस्पर्धा
भविष्यमा जिम्बुले थकाली खानामा आफ्नो अग्रस्थानलाई अझ मजबुत बनाउन चाहन्छ। प्रतिस्पर्धी थकाली नामका रेस्टुरेन्टहरू भए पनि जिम्बु थकाली ९क्यापिटल ग्रिल० नाम ट्रेडमार्क दर्ता भएको हुँदा ब्रान्डलाई जोगाउने काममा कम्पनी गम्भीर छ।
“हामी गुणस्तर, मौलिकता र ग्राहक सन्तुष्टिमा सम्झौता गर्दैनौं। प्रतिस्पर्धा ठूलो छ, तर हाम्रो लक्ष्य भनेको नम्बर १ थकाली रेस्टुरेन्ट ब्रान्ड रहिरहनु हो।”
जिम्बु थकालीले थकाली खानाको मौलिक स्वाद र आधुनिक कन्टिनेन्टल अनुभवलाई एउटै प्लेटफर्ममा ल्याएको छ। स्थानीय उत्पादन प्रयोग गर्ने प्रतिबद्धता, ग्राहकमैत्री मूल्य नीति, रोजगारी सिर्जनामा योगदान र अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापनले यसलाई नेपाली रेस्टुरेन्ट बजारमा एक फरक र अग्रणी ब्राण्ड बनाएको छ।





Comment