कोदो र फापरबाट बनेका परिकार प्रवद्र्धन गर्न निजी क्षेत्र तयार छ : अध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कोदो र फापरबाट बनेका परिकार प्रवद्र्धन गर्न निजी क्षेत्र तयार छ : अध्यक्ष ढकाल



काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रबाट कोदोबाट बनेको परिकारहरुको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार नेपाल कोदो, फापर संघले कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रबाट कोदोलाई प्रवद्र्धन गर्नका लागि र यसबाट बनेको परिकारहरुका बारेमा सचेतना जगाउनका लागि सरकार तथा अन्य संघ, संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

उनले भने,‘हामीले निजी क्षेत्रबाट कोदो र यसबाट बनेको परिकारहरुको प्रमोटको लागि सहकार्य गरेर अगाडि बढ्नेछौं ।’ त्यस्तै उनले गाउँतिर रहेका खेतीयोग्य जमिन बाँझो अवस्थामा रहेकामा चिन्ता व्यक्त गर्दै उक्त जमिनको सदुपयोग गरेर परम्परागत खेती कोदो–फापर जस्ता उत्पादनमा जोड दिनुपर्ने धारणा राखे ।

उनले भने,‘हाम्रो गाउँतिर रहेको खेतीयोग्य जमिन बाँझो अवस्थामा छ । परम्परागत खेती कोदो–फापर उत्पादन भइराखेका बेला युवाहरु विदेशिने लहर चलेकाले खेतीमा कम ध्यान गएको छ । त्यसैले यसलाई प्रोमोट चाँही गर्नुपर्छ ।’अध्यक्ष ढकालले आफू हरेक दिन विहानको खानाको रुपमा कोदो र फापरको रोटी खाने गरेको सुनाए ।

प्रकाशित : 1 August, 2025 6:30 pm