विरोधको अनौठो शैली : आँखामा कालोपट्टी बाँधेर नगर परिक्रमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

विरोधको अनौठो शैली : आँखामा कालोपट्टी बाँधेर नगर परिक्रमा



जनकपुर । जनकपुरधाममा दिनहुँजसो विरोध, प्रदर्शन, ज्ञापन पत्र बुझाउने, धर्ना, आन्दोलन हुनु कुनै नयाँ कुरा होइन । तर मंगलबार (आज) ज्ञापन पत्र बुझाउने एउटा अनौठो शैली देखिएको छ। विगत लामो समयदेखि चुरे तथा वनजंगल संरक्षणसहितका मागहरु लिएर आवाज उठाउँदै आएका चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले आँखामा कालो पट्टी बाँधेर नगर परिक्रमा गरेका छन् । उनले विभिन्न माग राख्दै आँखामा कालोपट्टी बाँधेर जनकपुरधामको नगर परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

संयोजक यादवले आँखामा पट्टी बाँधेर जनकपुरधामको जनक चोक, भानु चोक, मिल्स एरिया हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रदेश सरकारका उपसचिव बासुदेव मल्ललाई सात बुँदे ज्ञापन पत्र बुझाएका छन् । यादवले बुझाएको ज्ञापनपत्रमा हाल संसदमा पेश भएको भुमि व्यवस्था ऐन तत्काल फिर्ता लिन माग गरिएको छ ।

प्राकृतिक श्रोतमाथि भू–माफियाको बर्चस्व बढेर सरकारी वन क्षेत्र समाप्त हुने भएकाले सो ऐन तत्काल संसदबाट फिर्ता लिइ वन जंगल क्षेत्र हटाएर ऐन पेश गर्ने व्यवस्था गर्न समेत ज्ञापन पत्रमा सुझाइएको छ ।

खानेपानीको व्यवस्थाअन्तर्गत अल्पकालीन, मध्यकालीन र दिर्घकालिन योजना, कार्यक्रम र बजेट सुनिश्चितता गरि कार्यन्वयनको लागि घोषणा गर्न, मधेश प्रदेशलाई सुख्खा खडेरी र जल संकटग्रस्त क्षेत्र सरकारले घोषणा गरेपनि किसानको लागि तत्कालीन राहत र क्षतिपूर्तिको घोषणा गरि रकम उपलब्ध गराउनुपर्नेलगायतका मागहरु उल्लेख रहेको छ ।

प्रकाशित : 29 July, 2025 5:01 pm