नेपालको संवेदनशील अर्थतन्त्रलाई जोगाउन संरचना, नीति र प्रविधिमा सुधार आवश्यक छ : अनलराज भट्टराई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपालको संवेदनशील अर्थतन्त्रलाई जोगाउन संरचना, नीति र प्रविधिमा सुधार आवश्यक छ : अनलराज भट्टराई



काठमाडाै‌ । नेपालको अर्थतन्त्र संवेदनशील मोडमा पुगेको सन्दर्भमा संरचनात्मक सुधार, नीति कार्यान्वयनको प्रभावकारिता, र डिजिटल प्रविधिमा आधारित भविष्यमुखी बैंकिङ प्रणाली अवलम्बन गर्न आवश्यक रहेको अर्थ विश्लेषक अनलराज भट्टराईले बताएका छन्। इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको फ्युचर बैंकिङ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले वर्तमान आर्थिक अवस्थालाई विरोधाभासपूर्ण बताए।

“ब्याजदर कम हुँदै गएको छ, तर कर्जाको मागमा सुधार देखिएको छैन, लगानीकर्ताको आत्मविश्वास कमजोर छ, तर ऋणीहरू ऋणको भारले थलिएका छन्,” उनले भने। उनका अनुसार नेपालको अर्थतन्त्र सुस्त वृद्धि, औद्योगिक उत्पादकत्वमा कमी, निष्क्रिय कर्जाको वृद्धि, घट्दो उपभोक्ता खर्च र मुद्रा कमजोर हुँदै गएको जस्ता चुनौतीहरूमाझ छटपटिइरहेको छ। यस्तो अवस्थामा नेपालको वित्तीय प्रणालीलाई चुस्त, लचकदार र समसामयिक प्रविधिसँग सुसज्जित बनाउन जरुरी रहेको उनको भनाइ थियो। भट्टराईले नियो बैंक (Neo Bank) को अवधारणालाई फ्युचर बैंकिङको सम्भावित मोडलका रूपमा प्रस्तुत गरे।

उनले भने, “परम्परागत भौतिक शाखाको सट्टामा डिजिटल प्लेटफर्ममार्फत सेवा दिने नियो बैंकले वित्तीय पहुँच विस्तारमा योगदान दिन सक्छ।” यस्तै, डिजिटल सेवाको विकाससँगै भौतिक शाखा संख्यामा कमी ल्याउने प्रवृत्ति र बैंकिङ लाइसेन्स वितरणको मापदण्डमा पुनर्विचार गर्नुपर्ने आवश्यकतामाथि पनि उनले जोड दिए।

उनले नेपालको आर्थिक रूपान्तरणका लागि सातवटा आधारभूत प्रश्न उठाए – जसमध्ये नेपालको प्रतिस्पर्धात्मक क्षमता, निजी क्षेत्रको वृद्धिको वातावरण, व्यापारिक संस्कृतिको विकास, र विदेशी लगानी भित्र्याउने रणनीति जस्ता विषय प्रमुख थिए। यिनको उत्तरसँगै त्यसलाई व्यवहारमा उतार्न नीतिगत सुसंगतता र राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उनको धारणा थियो। उनले अगाडि भने, “नेपालसँग पर्याप्त प्राकृतिक स्रोत र सम्भावना छ, तर लगानीमैत्री वातावरणको अभाव, प्रशासनिक झन्झट, पुराना कानुन र अस्पष्ट नियमनले आर्थिक वृद्धि रोकिएको छ।” यस्तो अवस्था पार गर्न आपतकालीन आर्थिक योजना, राजस्व र खर्चको सन्तुलन, मौद्रिक नीतिको विवेकपूर्ण प्रयोग र सहकार्यपूर्ण शासन प्रणाली आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा उनले विद्युत, यातायात, सञ्चार, वित्त, स्वास्थ्य र खाद्य सेवा जस्ता क्षेत्रहरूमा देखिएको वृद्धि उत्साहजनक भएको उल्लेख गर्दै कृषि, शिक्षा र घरजग्गा क्षेत्रहरूको तुलनात्मक सुस्तताले समग्र अर्थतन्त्र सन्तुलनमा नरहेको बताए। उनले अन्त्यमा भने, “हामी यस्तो पुस्ता बनौँ जसले सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न सक्छ। अब समय हो, निराशामाथि आशा रोज्ने र स्पष्ट सन्देश दिने – ‘नेपाल जिम्मेवार परिवर्तनका लागि तयार छ’।”

प्रकाशित : 27 July, 2025 11:16 am