बेष्ट फाइनान्सको नयाँ बचत योजना: वातावरणका लागि ‘ग्रीन सेभिङ्ग्स डिपोजिट प्रडक्ट’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बेष्ट फाइनान्सको नयाँ बचत योजना: वातावरणका लागि ‘ग्रीन सेभिङ्ग्स डिपोजिट प्रडक्ट’



काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले नेपाल राष्ट्र बैंकद्वारा जारी ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४’ को मार्गनिर्देशनअनुरूप ‘ग्रीन सेभिङ्ग्स डिपोजिट प्रडक्ट’ नामक नयाँ बचत योजना ग्राहकमाझ ल्याएको छ।

जलवायु परिवर्तनका जोखिमहरूलाई न्यूनीकरण गर्ने, प्राकृतिक स्रोतहरूको संरक्षण तथा व्यवस्थापन गर्ने र वातावरणीय प्रदूषणलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यका साथ ल्याइएको यस योजनामार्फत ‘ग्रीन फाइनान्सिङ’ का लागि आवश्यक स्रोतहरू जुटाउने लक्ष्य राखिएको जनाएकाे छ।

यस निक्षेप योजनामा सहभागी हुने हरेक ग्राहकले ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४’ ले निर्धारण गरेका लक्ष्यहरू पूरा गर्ने कार्यमा स्वतः योगदान पुर्याउनेछन्। यसै क्रममा, बेष्ट फाइनान्सले वातावरणीय संरक्षणलाई प्रबर्द्धन गर्नका लागि प्रत्येक ग्राहकको तर्फबाट एक बिरुवा रोप्ने व्यवस्था समेत मिलाएको छ।

वृक्षारोपण कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन बेष्ट फाइनान्सले लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एस नेपाल सँग साझेदारी गरेको छ। यस साझेदारीअनुसार, लायन्स क्लबले स्थानीय निकायहरूसँग समन्वय गरी वृक्षारोपणका लागि खाली स्थानहरू उपलब्ध गराउने, बिरुवा रोप्ने, गोडमेल गर्ने, संरक्षण गर्ने तथा रोपिएका बिरुवाहरूलाई हुर्काएर ५ वर्षपछि सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गर्ने कार्यमा सहयोग गर्ने जनाएको छ।

यस सम्बन्धी साझेदारी समझौतापत्रमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बी.एन. घर्ती र लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एस नेपाल (एरिया १ काठमाडौं) का एरिया चिफ कोअर्डिनेटर चिन्तन बज्राचार्यले हस्ताक्षर गरेका छन्।

यसै सहकार्य अन्तर्गत, गोदावरी नगरपालिका वडा नं. १, गोदाचौर स्थित एक खाली जग्गामा ५०० बिरुवा रोप्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ। यो वृक्षारोपण कार्यक्रम बेष्ट फाइनान्स र लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एस नेपालको संयुक्त पहलमा आयोजना गरिएको थियो।

उक्त वृक्षारोपण कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. १ का अध्यक्ष श्रीराज थापा, बेष्ट फाइनान्सका अध्यक्ष प्रा.डा. रामजी गौतम, प्रमुख कार्यकारी अधिकृत बी.एन. घर्ती, फाइनान्सका कर्मचारीहरू, लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एस नेपालका एरिया चिफ कोअर्डिनेटर चिन्तन बज्राचार्य, एरिया एक्जुकेटिभ चिफ बालकुमार पाण्डे लगायत लायन्सका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यस वृक्षारोपण कार्यक्रमलाई लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एस नेपालका ५० भन्दा बढी क्लबहरूले समेत ऐक्यबद्धता जनाएका थिए।

प्रकाशित : 21 July, 2025 1:52 pm