काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको अर्थतन्त्रमा सुधारका सकारात्मक संकेतहरू देखिएका छन्। चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । जुन गत वर्षको ३.८७ प्रतिशतभन्दा बढी हो। देशको कुल आर्थिक आकार पनि वृद्धि भई ५७ खर्बबाट ६१ खर्ब पुगेको छ।
अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको अर्थतन्त्रका १८ मुख्य सूचकहरूमध्ये यातायात, सञ्चार, खेती, व्यापार, बैंक तथा बीमा, उद्योग, घर जग्गा, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य सेवा लगायतका क्षेत्रहरू समावेश छन्। यी तथ्यांकहरूले अर्थतन्त्र समग्रमा सुधारको दिशामा अघि बढेको देखिए पनि केही क्षेत्रमा थप सुधारको आवश्यकता रहेको औंल्याएको छ।
यस्ता छन् प्रमुख सकारात्मक सूचकहरू
- राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको छ। २०८२ असार २६ सम्ममा १० खर्ब ९७ अर्ब राजस्व संकलन भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १ खर्ब ८ अर्ब रुपैयाँले बढी हो। यो लक्ष्यको ७७.३४ प्रतिशत हो।
- त्यसैगरी, पुँजीगत खर्चमा पनि वृद्धि देखिएको छ। २०८२ असार २६ सम्ममा २ खर्ब ८ अर्ब पुँजीगत खर्च भएको छ । जुन गत वर्षको तुलनामा ३६ अर्बले बढी हो। यो ५९.१३ प्रतिशतको वृद्धि हो।
- साथै, धितोपत्र बजारमा सुधार आएको छ। २०८२ असार २५ गते नेप्से परिसूचक २७०५ विन्दुमा पुगेको छजुन गत वर्ष असार १८ गतेको २१०० विन्दुभन्दा माथि हो।
- निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धिदर ८.७ प्रतिशत पुगेको छ (२०८१ जेठसम्मको तथ्यांक)। गत वर्ष यो ५.६ प्रतिशत थियो।
- रेमिट्यान्स आप्रवाहमा १५.५ प्रतिशतको वृद्धि भएको छ। जसले कुल १५३२ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष यो १३२७ अर्ब रुपैयाँ थियो।
- निर्यातमा ७७.८ प्रतिशतको उच्च वृद्धि भएको छ (२०८२ जेठसम्मको तथ्यांक)। जबकि गत वर्ष ३ प्रतिशत मात्र वृद्धि भएको थियो।
- शोधनान्तर स्थिति ४९१ अर्ब रुपैयाँले बचतमा रहेको छ (२०८२ जेठसम्म), जुन गत वर्ष ४९२ अर्ब रुपैयाँले घाटामा थियो।
- विदेशी विनिमय सञ्चिति २०८२ जेठसम्म १८ अर्ब ६५ करोड अमेरिकी डलर पुगेको छ । गत वर्ष यो १४ अर्ब ७२ करोड अमेरिकी डलर थियो।
- वैदेशिक सहायता प्राप्तिमा पनि वृद्धि भएको छ, गत वर्षको १ खर्ब २ अर्बको तुलनामा यस वर्ष कुल २ खर्ब १९ अर्ब पुगेको छ।
- मुद्रास्फीति नियन्त्रणमा आएको छ। चालू आर्थिक वर्षमा (८२ वैशाखसम्म) २.७७ प्रतिशत मुद्रास्फीति रहेको छ । जुन गत वर्ष ४.४० प्रतिशत थियो।
- चालु खाता घाटा घटेको छ। २०८२ जेठसम्म ३ अर्ब ७ अर्ब रहेको यो घाटा गत वर्ष २०० अर्ब रुपैयाँ थियो।
- ब्याजदरमा कमी आएको छ। वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर ६.०९ प्रतिशतमा झरेको छ । जुन गत वर्ष ८.१७ प्रतिशत थियो।
- सञ्चिति पर्याप्तता बढेको छ, जसले १७ महिनाको वस्तु आयात र १४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ। गत वर्ष यो क्रमशः १५ र १२ महिना थियो।
अर्थतन्त्रका लागि भएका नीतिगत तथा कानुनी सुधारहरू
- आर्थिक स्थायित्व तथा वित्तीय उत्तरदायित्व ऐन, २०८१
- आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०८१।
- धितोपत्र (पहिलो संशोधित) ऐन, २०८१।
- बैंक तथा वित्तीय संस्था ऐन, २०८२।
- भन्सार, भूमि कर, आयकर, राष्ट्र ऋण उठाउने ऐन, २०८२ लगायतका नयाँ कानुन।
- वैदेशिक लगानी सञ्चालन विधेयक, २०८१ संसद्मा पेस।
- आन्तरिक राजस्व सञ्चालन रणनीति सार्वजनिक, २०८१।
- उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोग गठन।
- पुँजी बजार सुधार आयोग गठन।
- भविष्य ठेक्का प्रणालीलाई व्यवस्थित र कार्यान्वयन योग्य बनाउने पहल।
चुनौतीहरू
- राजस्व संकलन लक्ष्य अनुसार नहुनु एक चुनौतीको रुपमा रहेको छ।
- गत वर्षको ३० अर्ब रुपैयाँ भन्दा बढी दायित्व भुक्तानी तथा भुक्तानीमा समस्या सामना गर्नु परेको छ।
- केही आर्थिक गतिविधि सुस्त रहेको अवस्था पनि देखिएको छ।





Comment