काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को एघार महिनाको समीक्षामा नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप र कर्जा प्रवाह दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको तथ्यांकअनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा ५१७ अर्ब ६० करोड बराबरको निक्षेप थपिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.० प्रतिशतले वृद्धि भएको हो।
वार्षिक विन्दुगत रूपमा २०८२ जेठ मसान्तसम्म कुल निक्षेप १२.० प्रतिशतले बढेको छ। जुन वित्तीय प्रणालीको स्थायित्वप्रति सकारात्मक सूचक मानिन्छ। २०८२ जेठ मसान्तको विवरणअनुसार कुल निक्षेपमा चल्ती खाताको अंश ५.७ प्रतिशत, बचत खाताको ३६.२ प्रतिशत र मुद्दती खाताको अंश ५०.२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यिनै खाताहरूको अंशक्रमशः ५.२, २९.१ र ५८.५ प्रतिशत थियो । जसले मुद्दती निक्षेपमा केही गिरावट आएको देखाउँछ।
संस्थागत निक्षेपको अंशमा पनि हल्का गिरावट आएको छ। २०८२ जेठ मसान्तमा यो अंश ३५.५ प्रतिशत रहेको छ भने अघिल्लो वर्ष ३६.० प्रतिशत थियो।
कर्जा प्रवाहमा तीव्रता, निजी क्षेत्रतर्फ प्राथमिकता
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रतर्फ ४०७ अर्ब ६२ करोड बराबरको कर्जा प्रवाह गरेका छन् । जुन ८.० प्रतिशतले वृद्धि हो। यो वृद्धि अघिल्लो वर्षको ५.१ प्रतिशतभन्दा उल्लेखनीय रूपमा बढी हो। वार्षिक विन्दुगत रूपमा यो कर्जा वृद्धि ८.७ प्रतिशत पुगेको छ।
कर्जाको वर्गीकरण हेर्दा गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६३.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.० प्रतिशत कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष यो अनुपात ६३.५ र ३६.५ प्रतिशत थियो।
कर्जा प्रवाहलाई संस्थागत रूपमा हेर्दा, वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.४ प्रतिशतले बढेको छ भने विकास बैंकहरूबाट ४.७ प्रतिशत र वित्त कम्पनीहरूबाट ६.९ प्रतिशतले कर्जा विस्तार भएको देखिन्छ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जामा प्रयोग हुने धितोको स्वरूपमा पनि केही परिवर्तन देखिएको छ। २०८२ जेठ मसान्तसम्म, चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.५ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६५.० प्रतिशत कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष यो अनुपात क्रमशः १२.० र ६८.५ प्रतिशत थियो।
आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा कर्जा प्रवाह क्षेत्रगत रूपमा हेर्दा औद्योगिक उत्पादनमा ८.२ प्रतिशत, निर्माण क्षेत्रमा १२.९ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ५.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १३.५ प्रतिशत, सेवा उद्योगमा ८.८ प्रतिशत र उपभोग्य क्षेत्रमा १०.९ प्रतिशतले वृद्धि भएको छ।
कर्जाको प्रकृति अनुसार विश्लेषण गर्दा ट्रष्ट रिसिट ९आयात० कर्जा ६२.२ प्रतिशतले वृद्धि भएको छ। जुन आयात गतिविधिमा पुनः विस्तारको संकेत दिन्छ। त्यसैगरी, मार्जिन कर्जा ४२.८ प्रतिशतले बढेको छ। अन्य उल्लेखनीय वृद्धिहरूमा हायर पर्चेज कर्जा ५.५ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घरसमेत) ५.० प्रतिशत र आवधिक कर्जा ५.१ प्रतिशतले बढेका छन्।
यता, अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा भने १३.२ प्रतिशतले घटेको छ । जुन व्यवसायीक ऋण उपभोगको बदलिंदो प्रवृत्तिको संकेत हुन सक्छ।





Comment