काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापन अन्तर्गत असार १५ गते ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले उपकरण निष्काशनका लागि सार्वजनिक सूचना जारी गर्दै बोलकबोल प्रणालीमार्फत संकलन प्रक्रिया सञ्चालन हुने जनाएको हो।
यसपटकको उपकरण ६३ दिन अवधिको हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले २०८२ असार १५ गते दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन्। उपकरण सोही दिन निष्काशन हुनेछ भने भुक्तानी म्याद भदौ १५ गते रहनेछ।
राष्ट्र बैंकका अनुसार ब्याजदर बोलकबोलमार्फत तय हुनेछ, र संस्थाहरूले बहुबोल र बहुब्याजदरमा प्रस्ताव दिन सक्नेछन्। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
बोलकबोलमा भाग लिनका लागि न्यूनतम १० करोड रुपैयाँको प्रस्ताव अनिवार्य गरिएको छ। अधिकतम भने ५ करोड रुपैयाँका दरले भाग जाने गरी ३० अर्ब रुपैयाँसम्म प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ। प्रस्ताव गर्दा ब्याजदर दशमलवपछि चार अंकसम्म उल्लेख गर्नुपर्ने छ।
न्यून ब्याजदर भएका प्रस्तावहरूलाई प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ। यदि समान ब्याजदरमा माग बढी भएमा प्रोराटा आधारमा बाँडफाँड गरिनेछ।
बोलपत्र स्वीकृत भएपछि, राष्ट्र बैंकले बोलकबोलमा सहभागी संस्थाहरूको खाता मार्फत रकम कट्टा गरी छुट्टै खातामा जम्मा गर्ने व्यवस्था मिलाउनेछ।





Comment