काठमाडौं । एनएमबि बैंक लिमिटेड र काँग हाइड्रोपावर कम्पनी लिमिटेडबीच ताप्लेजुङ्ग जिल्लाको मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवा खोला जलविद्युत् आयोजनामा ऋण लगानी गर्न सहमति भएको छ।
ऋण सम्झौतामा एनएमबि बैंकको तर्फबाट चिफ, सस्टेनेबल इनेर्जी बैंकिङ्गका श्री दिनेश दुलाल र काँग हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक श्री गणेश प्रसाद सुब्बाले हस्ताक्षर गरेका हुन्।
सम्झौता हस्ताक्षरपश्चात एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र काँग हाइड्रोपावरका प्रबन्ध निर्देशक सुब्बाले सम्झौता पत्र आदान–प्रदान गरेका थिए।
सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत घिमिरेले आयोजनालाई निर्धारित लागत र समयसीमा भित्र सम्पन्न गर्न तथा प्राविधिक, वातावरणीय र सामाजिक पक्षलाई उचित रूपमा व्यवस्थापन गर्दै अघि बढ्न कम्पनीलाई आग्रह गरे।
प्रबन्ध निर्देशक सुब्बाले एनएमबि बैंकलाई धन्यवाद दिँदै आयोजनालाई समयमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे।
एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ। साथै, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनका लागि नीतिगत व्यवस्था सहितको पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ।
बैंकले यस्ता आयोजना निर्माणमा दिगोपन र उत्तरदायित्व सुनिश्चित गर्ने नीति अनुरूप लगानी गरिरहेको जनाएको छ।





Comment