बैंकहरुमा थुप्रियो पैसा, ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकहरुमा थुप्रियो पैसा, ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज अर्थात जेठ २१ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको हो।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको असार ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : 4 June, 2025 11:46 am