काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भनसुन र पहुँचको भरमा पाउने रोजगारीको अभ्यास अन्त्यतिर अघि बढेको बताएका छन्। श्रम मन्त्रालयले सुरु गरेको ‘श्रम संसार’ डिजिटल पोर्टलले रोजगारी प्रणालीमा पारदर्शिता ल्याउने उनको भनाइ छ।
एक सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित शुभकामना कार्यक्रम र ‘श्रम संसार’ पोर्टलको उद्घाटन गर्दै मन्त्री भण्डारीले वर्षौंदेखि सिफारिस र नेटवर्ककै भरमा रोजगारी वितरण हुने परिपाटीले युवामा निराशा बढाएको उल्लेख गरे।
“अब जोसँग सीप र क्षमता छ, उसैले रोजगारी पाउने अवस्था सिर्जना गरिनेछ,” मन्त्रीले भने। उनले दक्षताको अभावका कारण नेपाली श्रमिकले रोजगारी गुमाउँदै आएका छन् भने विदेशबाट श्रमिकहरू आएर त्यही काम गरिरहेको अवस्था चिन्ताजनक भएको बताए।
प्रत्येक वर्ष करिब पाँच लाख नेपाली श्रमिक श्रम बजारमा प्रवेश गर्छन्। तर, आवश्यक सीप नहुँदा उनीहरू बेरोजगार रहने अवस्था रहेको मन्त्रीको भनाइ छ। सरकारले आगामी दशकभित्र श्रमिकलाई सीपयुक्त बनाउँदै विदेशी श्रमिकको आवश्यकता हटाउने लक्ष्य राखेको जानकारी उनले दिए।
श्रम संसार पोर्टलले रोजगारदाता र श्रमिकबीच सिधा सम्पर्कको माध्यम बनाउने अपेक्षा गरिएको छ। मन्त्री भण्डारीका अनुसार अब प्रविधिको माध्यमबाट श्रम सेवामा पहुँच सजिलो, छरितो र पारदर्शी हुने छ।





Comment