काठमाडौं । पार्टी सभापति रवि लामिछाने ६५ लाख रुपैंयाँ धरौटी राखेर छुटेको भोलिपल्ट बिहान राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले जनतासँग माफी मागेको छ ।
रास्वपाका कास्की जिल्ला अध्यक्ष यदुनाथ अधिकारीले शुक्रवार बिहानै प्रेस बिज्ञप्ति निकालेर आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीसँग क्षमा मागेका हुन् ।
पार्टी सभापति लामिछानेको रिहाई र न्यायका लागि विभिन्न मध्यमबाट आन्दोलनमा उत्रिएका पार्टीका सम्पूर्ण कार्यकर्ता शुभचिन्तक, समर्थक, न्यायप्रेमी जनसमुदाय र पत्रकारहरुलाई कृतज्ञता प्रकट गर्दै उक्त बिज्ञप्तिमार्फत आन्दोलन, धर्ना विरोधसभाको क्रममा आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीलाई पर्न गएको असुविधाप्रति पार्टीको तर्फबाट क्षमा याचना गरिएको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ ‘ढिलै भएपनि सत्यको जित भएको छ । हाम्रो पार्टी सभापति एवं पूर्वगृहमन्त्री माननीय रवि लामिछानेज्यू मिति २०८१ कार्तिक २ गतेबाट विगत ८४ दिनदेखि विना कसूर सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्दीकरण अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतामा रहनुभएको थियो ।
सम्मानित कास्की जिल्ला अदालतले उहाँलाई ६५ लाख धरौटीमा रिहाई गर्ने आदेश दिएको छ। सम्मानित कास्की जिल्ला अदालतको आदेशप्रति हामी हार्दिक अभार, कृतज्ञतासहित उच्च सम्मान व्यक्त गर्दछौ । ढिलै भएपनि आखिर सत्यको जित, न्यायको जित भएको छ ।’
Comment