काठमाडौं । गार्डियन माइक्रो लाइफले पुस २१ गतेदेखि आइपीओ आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ जारी गरी बाँडफाँटसमेत गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो।
कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो।
सोहीबमोजिम कम्पनीले नियमानुसार वैदेशिक रोजगारमा रहेका नेपालीलाई कुल अनुमतिको १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँबराबरको आइपीओ गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बिक्री गरेको थियो।
अब कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गर्न लागेको हो।
सर्वसाधारणका लागि जारी आइपीओ छिटोमा पुस २४ गते र ढिलोमा मंसिर ६ गते बन्द हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट अनलाइन खरिद आवेदन दिन सक्नेछन्।
Comment