काठमाडौँ । नेपालकी पहिलो महिला सभामुख ओनसरी घर्तीमगरले राजनीतिक क्षेत्रमा महिलाहरूलाई शारीरिकभन्दा पनि मानसिक हिंसा बढी हुने गरेको बताएकी छिन् ।
‘महिला हिंसाविरुद्ध म बोल्छु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानसिक हिंसा भए पनि महिलाहरूले निरन्तर लडाइँ गरेर हार मान्न नहुने बताएकी हुन् ।
उनले भनिन्, ‘स्थानीय तहमा ४० प्रतिशत महिलाहरूको उपस्थिति छ भनेर हरेक पुरुष साथीले भाषण गर्नुहुन् , राजनीतिमा महिलाहरूलाई शारीरिकभन्दा पनि मानसिक हिंसा धेरै हुन्छ । त्यो मानसिक हिंसा हुँदाखेरी हामीले हार खानुहुन्न । हामीले निरन्तर लडाइँ गर्नुपर्छ । हामी प्रत्येक व्यक्तिको पछाडि लेखियो भने थुप्रै उपन्यास बन्छन् । सबैभन्दा मुख्य कुरा राजनीति हो । सबै कुराको कमाण्ड राजनीतिले गर्छ ।’
साथै उनले महिलाहरू कुनै क्षेत्रमा पनि कमजोर नभएको बताएकी छिन् । महिलाहरू समाजको नियममै बसेर हरेक कामहरू दृढतापूर्वक गर्नसक्ने बताएकी हुन् ।
उनले भनिन्, ‘कुनै क्षेत्रमा पनि महिला कमजोर छैनन् । महिलाहरू समाजको नियममै बसेर हरेक कामहरू दृढतापूर्वक गर्न सक्छन् । तर म जुन समय महिला सभापति भए त्यो समयको अनुभव मलाई थुप्रै छ । उमेरको हिसाबले म सानो सबैभन्दा सानो थिएँ । मन्त्री, सासंद सबैले मलाई छोरी भन्नुहुन्थ्यो । तर पनि म महिला सभामुख भएर पनि हरेक दलका नेताहरूलाई भेट्न घरघरमा पुग्थे । अहिलेका सभामुख कोही घर घरमा पुगेको सुन्नु भएको छ ?’
साथै उनले राजनीतिक दलहरूलाई एक बनाउनका लागि आफूले हरेक प्रयासहरू गरेको बताइन् ।
Comment