यस्ता छन् कुलमान घिसिङकाे तीन वर्षका उपलब्धि (पूर्णविवरण) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यस्ता छन् कुलमान घिसिङकाे तीन वर्षका उपलब्धि (पूर्णविवरण)



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको तीन वर्ष पुरा गरेका छन् । यस अवसरमा शुक्रबार उनले पत्रकार सम्मेलन गरी तीन वर्षमा गरेका कामको प्रगति विवरण र आगामी एक वर्षका चुनौतीहरु प्रस्तुत गरे।

उनको चार वर्षे कार्यकाल पूरा हुन अब एक वर्ष बाँकी छ । यस तीन बर्षे अवधिकमा उनले विद्युत् उत्पादनसँगै अन्तरदेशीय विद्युत् प्रशारण लाइनको विस्तार तथा स्तरोन्नतीमा व्यापक सुधार भएको बताए । उनका अनुसार भारतसँगको विद्युत् व्यापारका लागि करिब २ हजार ५०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तर्देशीय प्रसारण लाइन निर्माणाधीन अवस्थामा छ ।

नेपाल–भारत बीचको विद्युत् आयात निर्यातका लागि ८ वर्षअघि करिब ३५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल करिब २ हजार मेगावाट पुगेको उनले बताए ।

उनका अनुसार आठ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२र७३ मा मुुलुकमा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको उनले बताए । उनले तीन वर्षअघि ८९।७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको बताए ।

उनका अनुसार आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युतको ग्राहक संख्या अहिले सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । साथै उनले आठ वर्षअघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको पनि बताए ।उनका अनुसार सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्नेगरी प्रसारण लाइन सञ्जालको विस्तार गरिने सुनिश्चितता गरिएको छ ।

प्रकाशित : २५ श्रावण २०८१, शुक्रबार १५:१७