कम्पनीको वित्तीय स्थिति हेरेर मात्र लगानी गरौँः अध्यक्ष बराल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
७ मंसिर २०८३, सोमबारMonday, November 23, 2026

शेयर बजार

कम्पनीको वित्तीय स्थिति हेरेर मात्र लगानी गरौँः अध्यक्ष बराल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष महेश बरालले कम्पनीको वास्तविक वित्तीय स्थिति हेरेरमात्र शेयरमा लगानी गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बिहीबार बसेको बैठकमा शेयर बजारबारे जानकारी गराउँदै सेबोन अध्यक्ष बरालले यस्तो आग्रह गरेका हुन्। ‘हल्लाको पछि लाग्न हुँदैन, लगानी डुब्ने अवस्था सिर्जना हुन सक्छ’, उनले भने।

अध्यक्ष बरालले कम्पनीको शेयरमूल्य सम्बन्धित संस्थाको वित्तीय कारोबार र प्रतिफलबाट निर्धारण हुने बताए। ‘तर, पछिल्लो समय हल्लाले बजारमूल्य निर्धारण भइरहेको छ’, उनले भने।

वित्तीय ज्ञान नभएर पनि शेयर बजारको अस्थिरता भइरहेको बरालले स्पष्ट पारे। ‘देशका सबै क्षेत्रमा पुँजीबजारसम्बन्धी ज्ञान, अनुभव र शिक्षा पुर्याउन सकिएको छैन’, उनले भने, ‘यसैको फाइदा उठाउँदै टाठाबाठाले बजारमा चलखेल गरिरहेका छन्।’

शेयरको भित्री कारोबार क्लब हाउसलगायतका डिजिटल माध्यमबाट भएको रहेको पाइएको बरालले बताए। ‘अर्कोतर्फ बजार चलिरहेको समयमा राजनीतिज्ञहरुले पनि संयमित भएर बोल्नुपर्ने अवस्था मैले देखेको छु’, उनले भने।

अध्यक्ष बरालले सेबोनले पुँजीबजारसम्बन्धी सूचना तथा जानकारी सार्वजनिक गरिरहेको दाबी पनि गरे। ‘तर, मिडियामा आएका समाचार र हल्लाको भरमा लगानीकर्ता बजारमा लागेका छन्, यो जोखिमपूर्ण हुन सक्छ’, उनले भने।

प्रकाशित : २४ श्रावण २०८१, बिहिबार १३:३४ 8 August, 2024 1:34 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।