उद्योग वाणिज्य महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाटै चयन गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

उद्योग वाणिज्य महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाटै चयन गरिने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो ।

महासंघ कार्यसमितिको सोमबारको बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो । बैठकले प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको छनोट, दुई जना वरिष्ठ उपाध्यक्ष, चार जना उपाध्यक्ष र त्यसमा एक जना महिला अनिवार्य लगायत व्यवस्थासहितको संशोधित विधान सर्वसम्मत पारित गरेको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष निर्वाचनबाट चयन हुने जानकारी दिए। उनले यसअघि पनि यसै बमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरु गठन गरी काम गरिएको भएपनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको अध्यक्ष ढकालले बताए ।

अध्यक्षले निर्वाचनकै बेला विधान संशोधनको वाचा गरेको र अहिले आफ्नो प्रस्तावलाई कार्यसमितिले सर्वसम्मत पारित गरेकामा उनले समितिलाई धन्यवाद दिए ।

यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने बताइएको छ । संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो । महासंघमा प्रायः रहेका अध्यक्षको कार्यकालमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको प्रस्ताव भए पनि सदस्यहरूबीच विवादका कारण पारित हुन सकेको थिएन ।

महासंघको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी मङ्सिर मसान्तभित्र महासंघको विशेष साधारणसभाले पारित गर्ने महासंघले जनाएको छ ।

प्रकाशित : २५ असार २०८१, मंगलवार १४:३७