सत्ता परिवर्तनकाे हल्लाले बजारमा उछाल, नेप्से सूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

सत्ता परिवर्तनकाे हल्लाले बजारमा उछाल, नेप्से सूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा



काठमाडौं । राजनीतिमा आएको परिवर्तनले मंगलबार सेयर बजार प्रभावित बनेको छ। सोमबार नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि सहमति गरेपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको हो ।

सेयर बजार खुलेको १ मिनेट २३ सेकेण्डमा नै नेप्से ४ प्रतिशत बढेर २० मिनेटको लागि सेयर कारोबार बन्द भएको थियो। सोपश्चात खुलेको बजार १६ सेकेण्डमा नै अर्को एक प्रतिशत बढेर सेयर कारोबार पुनः ४० मिनेटका लागि बन्द भयो।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएपछि नेप्सेमा तेस्रो सर्किट लाग्न सकेन। तरपनि बजार भने दिनभरी नै सकारात्मक रह्यो।

आज साताको तेस्रो कारोबार दिन नेप्से सूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा आइपुगेको छ। त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ८.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१८ अंक बढेको छ।

आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन करिब तीन अर्बको सेयर खरिदबिक्री भएको बजारमा आज ३१५ कम्पनीको चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँ बराबरको एक करोड १६ लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ।

आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

प्रकाशित : १८ असार २०८१, मंगलवार १५:५५