धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खारेज



काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खारेज भएको छ । बोर्ड अध्यक्ष सिफारित समितिले प्रक्रिया नै खारेज गरेको हो ।

बोर्डको अध्यक्षका लागि आवेदन दिएका ५ जना मध्ये ३ जना अन्तवार्ता लागि उपस्थित नभएपछि समस्या देखिएको थियो । समितिमा कुरा नमिलेपछि प्रक्रिया रद्द भएको समितिले जनाएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले गत असार २ गते सर्टलिस्टमा परेका ५ जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको थियो। तर, तीमध्ये २ जनामात्रै अन्तर्वार्ता दिन गएका थिए भने बाँकी ३ जनाले बहिष्कार गरेका थिए।

त्यसपछि समितिले नआएका ३ जनालाई फेरि असार ५ गते अन्तर्वार्ताका लागि बोलाएको थियो। त्यस दिन पनि ती ३ उम्मेदवार अन्तर्वार्ता बहिष्कार गरेका थिए।

धितोपत्र ऐनमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। तर, २ जनाले मात्रै अन्तर्वार्ता दिएपछि समितिले अब अगाडि कसरी बढ्न सकिन्छ भन्ने विषय महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको थियो।

महान्यायाधिवक्ता कार्यालयबाट हालको ऐनमा कम्तीमा ३ जना उम्मेदवारमा मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था रहेकोले सोहीबमोजिम गर्न सुझाव दिएको छ। महान्यायाधिवक्ताको रायमा सिफारिस समितिले अर्थसचिव र अर्थमन्त्रीसँग छलफल पनि गरेको थियो। तर, अन्ततः सिफारिस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो।

सर्टलिस्टमा परेका धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठले मात्रै कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिएका थिए। अन्य उम्मेदवारहरु धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले अन्तर्वार्ता बहिष्कार गरेका थिए।

प्रकाशित : १४ असार २०८१, शुक्रबार १६:४०