ट्रक पार्क बनाउन कोसी प्रदेशको २ करोड बजेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

ट्रक पार्क बनाउन कोसी प्रदेशको २ करोड बजेट



काठमाडौं । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माण गर्न २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कोसी प्रदेश सरकारले मोरङको विराटनगरमा आगामी आवका लागि ट्रक पार्किङ स्थल संरचना निर्माण लाभ साझेदारीका लागि २ करोड रुपैयाँ विनियोजन गरेको हो ।

विराटनगरमा आफ्नै जग्गामा पार्किक स्थल निर्माणका लागि ट्रक व्यवसायी समितिले आवश्यक बजेट छुट्याइदिन प्रदेश सरकारलाई आग्रह गरेको थियो ।

सोही आग्रह बमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पार्किङ स्थल संरचना निर्माण गर्न बजेट विनियोजन भएको छ ।

लाभ साझेदारीमा पार्किङस्थल बनेसँगै पार्किङ गरिए बापत् प्रति ट्रक एक सय रुपैयाँ उठाइने ट्रक व्यवसायी समिति विराटनगरका पूर्वअध्यक्ष मेघराज सिग्देलले जानकारी दिए ।

त्यसमध्ये ४० रुपैयाँ प्रदेश सरकारलाई दिनुपर्ने र ६० रुपैयाँले पार्किङ स्थलको व्यवस्थापन गरिने उनले बताए ।

पार्किङस्थल बुढीगंगा गाउँपालिकामा बन्ने भएको छ । सिग्देलले ट्रक पार्किङमा समस्या भइरहेको अवस्थामा यसरी प्रदेश सरकारले बजेट विनियोजन गरेर पार्किङस्थल निर्माण गरिदिनु स्वागतयोग्य भएको बताए ।

उनले अन्य प्रदेश सरकारहरूले पनि ट्रक पार्किङस्थल निर्माणका लागि बजेट छुट्याउनु पर्नेमा जोड दिए ।

प्रकाशित : १२ असार २०८१, बुधबार १३:१७