जेठमा घरजग्गाको कारोबार बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

जेठमा घरजग्गाको कारोबार बढ्याे



काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को जेठ महिनामा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा ६१ हजार १६१ लिखतपारित भएका छन् । गत वर्ष जेठमा देशभर ५५ हजार ६९ वटा लिखतपारित भएका थिए ।

चालु आर्थिक वर्षको फागुनमा ५० हजार ९९८ वटा, चैतमा ४९ हजार १५० वटा र वैशाखमा देशभर ४२ हजार ४६१ वटा लिखतपारित भएका थिए । चालू आर्थक वर्षका विगतका महिनाहरुमा घरजग्गा कारोबार बढ्दै गर्दा पनि राजस्व संकलन भने घटेको थियो । तर वैशाखदेखि भने कारोबार साथै राजस्व संकलन पनि बढेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ ११ महिनामा ४ अर्ब बढी घर जग्गाबाट राजश्व संकलन गरेको छ । विभागका अनुसार सरकारले जेठमा ४ अर्ब ३३ करोड ९२ लाख ४१ हजार ७६९ रुपैयाँ संकलन गरेको हो ।

देशभरका विभिन्न मालपोत कार्यालयबाट उक्त राजश्व संकलन भएको विभागले बताएको छ । सरकारले जेठ महिनामा सेवा करबापत ३८ करोड ३८ लाख ९६८, राजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ८१ करोड ९२ लाख ९७ हजार १२५ र पुँजीगत लाभ कर १ अर्ब ५६ करोड ८८ लाख ८७ हजार ९३० रुपैयाँ राजश्व संकलन गरेको छ ।

गत जेठको तुलनामा जग्गाको कारोबारबापत संकलन हुने राजस्व १५.५२ प्रतिशतले बढेको छ । गत वर्षको जेठमा ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रकाशित : ३ असार २०८१, सोमबार १६:४९