उद्योगी र व्यवसायीलाई कच्चा पदार्थ आयात गर्दा समान भन्सार दर कायम गर्न जुत्ता चप्पल व्यवसायीको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

उद्योगी र व्यवसायीलाई कच्चा पदार्थ आयात गर्दा समान भन्सार दर कायम गर्न जुत्ता चप्पल व्यवसायीको माग



काठमाडौं । नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले उद्योगी र व्यवसायी दुबैलाई कच्चा पदार्थ आयात गर्दा समान भन्सार दर कायम गर्न माग गरेको छ । भन्सार विभागका महानिर्देशक र उद्योग विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाउँदै संघले माग गरेको हो।

संघले जुत्ता चप्पल बनाउने कच्चापदार्थ आयात गर्दा उद्योगी र व्यवसायीलाई फरकफरक भन्सार दर भएकाले समान भन्सार दर कायम गर्न माग गरेको जनाएको छ। त्यस्तै संघले साना तथा घरेलु उद्योगीहरुको सिप विकास र आधुनिकिकरणका लागि दक्ष श्रमिक उत्पादनका लागि छुट्टै बजेट व्यवस्थापन गर्न पनि माग गरेको छ।

संघका अध्यक्ष हरि वयलकोटीले जुत्ता चप्पलको कच्चा पदार्थ आयातमा साना तथा घरेलु सबै उद्योगीहरुले आयात गर्न नसक्ने अवस्था रहेकाले उद्योगी र व्यवसायीलाई समान भन्सारदर काम गर्नु पर्ने माग गरिएको बताए । उनले सरकारले स्वदेशी जुत्ता चप्पल संरक्षणका लागि सरकारले कच्चा पदार्थ आयातका क्रममा हुने चोरी पैठारी रोक्न पहल गर्नु पर्ने माग गरेको पनि बताए ।

गुणस्तरीय कच्चा पदार्थ मात्र आयात गर्न प्रोत्साहित गर्नु पर्ने माग गरेको छ। एक आर्थिक वर्षमा बारम्बार भन्सार दर परिर्वतन हुने प्रणालीको अन्त्य गर्न पनि भन्सार विभागसँग माग गरेको छ ।

संघले जुत्ता चप्पल उद्योगमा प्रयोग हुने कच्चा पदार्थ अतिआवश्यक बस्तुमा पर्ने भएकाले भन्सारदरमा सहुलियतको व्यवस्था गर्नु पर्ने सुझाव दिएको छ । काठमाडौं उपत्यका लगायत विभिन्न क्षेत्रमा रहेर सञ्चालनमा रहेका उद्योगहरुलाई छुट्टै औधोगिक ग्रामको व्यवस्था गर्नु पर्ने तथा सरकारले सञ्चालन गरेका औधोगिक क्षेत्रमा जुत्ताचप्पल उद्योगीलाई स्थानको व्यवस्था गर्न माग गरेको हो ।

आत्मनिर्भरतातर्फ उन्मुख भनिएको जुत्ताचप्पल उद्योग क्षेत्रमा सम्भावना भन्दा चुनौती बढी देखिन थालेकाले सरकारले सहजिकरण गर्न आवश्यक रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए ।

उनले सरकारले जुत्ताचप्पल उद्योगलाई आत्मनिर्भर उन्मुख उद्योगका रूपमा लिए पनि साना र मझौला व्यवसायीहरुको संरक्षण र प्रवद्र्धनमा अझै सरकारको ध्यान पुग्न सकेकाले भन्सार र उद्योग विभाग मार्फत सरकारको ध्यानाकर्षण गराएको बताए ।

उनले जुत्ताचप्पलका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने व्यवसायीहरु अझ बढी मारमा परिरहेको बताए । औद्योगिक कर्जाको ब्याज तुलनात्मक रूपमा बढ्दा व्यवसायीहरु थप समस्याका कारण जुत्ताचप्पल उद्योग विस्तारमा चुनौती थपिएको दाबी गरे। जुत्ताचप्पल उत्पादनमा आधुनिक प्रविधिको अभाव रहेको उनको भनाइ छ।

संघका महासचिव शैलेन्द्र केसीले नेपाली जुत्ताचप्पल उद्योगका लागि स्वदेशी कामदार नभएकाले भारतबाट कामदार ल्याउनुपर्ने अवस्थाको अन्त्यका लागि मुलुकमा सीप मुलक तालिम राज्यले दिनुपर्ने बताए । उनले सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने कार्ययोजना ल्याउन आवश्यक रहेको बताए ।

उनले भन्सारबाट हुने चोरी पैठारीका रोक्न आवश्यक रहेको बताए । भन्सार छलेर कुनै कर नतिरी आएका सामानहरु विक्रेताले कम मूल्यमा बेचेपछि हाम्रा उत्पादनहरु बेच्न मुस्किल परेको उनको भनाइ छ। संघको ध्यानाकर्षण पत्र बुझ्दै भन्सार विभागका महानिर्देशक ढुण्डी प्रसाद निरौलाले व्यवसायीको मागलाई सम्बोधन गरिने प्रतिबद्धता जनाउनु भएको व्यवसायीहरुले बताए ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलवार ११:४४