चैत महिनामा महंगी घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

चैत महिनामा महंगी घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांकले महँगी घट्दै गएको देखाएको छ। राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालुआर्थिक वर्षको ९ महिनाको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२.६४ प्रतिशत, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप– समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.१० प्रतिशतले घटेको छ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.३३ प्रतिशतले घटेको छ ।

२०८० चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.५७ प्रतिशत, ७.६८ प्रतिशत, ७.०१ प्रतिशत र ७.४७ प्रतिशत रहेको थियो ।

प्रकाशित : ३० बैशाख २०८१, आईतवार १४:३३