राष्ट्रिय सम्मेलन गर्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

राष्ट्रिय सम्मेलन गर्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ



काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले राष्ट्रिय सम्मेलन गर्ने भएको छ । यहि बैसाख २७ गते संघले काठमाडौँ, नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा सो कार्यक्रम आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रममा देशमा विद्यमान आर्थिक संकट र त्यसका समाधान विषयमा खास बहस हुने जनाइएको छ । कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा अर्थमन्त्री बर्षमान पुन, शिक्षामन्त्री सुमना श्रेष्ठ, लगायतले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रमको दोश्रो सत्रमा बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रलाई जोडेर विशेष बहस हुनेछ । पूर्व अर्थमन्त्री डा. युबराज खतिवडा किनोट स्पिकरका रुपमा रहनुहुने सो सत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष श्री राजेश कुमार अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष श्री सुनिल केसी, नेपाल उद्योग बाणिज्य महासंघकि पूर्वअध्यक्ष श्रीमती भवानी राणा, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले विशेष बहस गर्ने छन् । सो कार्यक्रमलाई नबिल बैंक लिमिटेडका डेपुटी सिइओ मनोज ज्ञवालीले मध्यस्थतता गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमको तेश्रो सत्रमा नेपालको समृद्धिको र आर्थिक विकासका विषयमा खास बहस गर्ने संघले जनाएको छ । पूर्वमन्त्री मिनेन्द्र रिजाल कि नोट स्पिकरका रुपमा रहने सो कार्यक्रममा पूर्वमन्त्री श्रीमती बिमला राज पौड्याल, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ट उपाध्यक्ष रविन्द्र मिश्र, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीश चन्द्र पोखरेल र अर्थविद विश्वास गौचनले बहस गर्ने कार्यक्रम छ । सो कार्यक्रमलाई बरिष्ठ सञ्चारकर्मी दिल भुषण पाठकले मध्यस्थतता गर्ने संघले जनाएकाे छ ।

कार्यक्रम नेपालले भोगिरहेको आर्थिक सङ्कटको समाधानको दिशा देखाउने काममा उल्लेखनीय हुने संघको विश्वास छ । सो कार्यक्रममा देशका विभिन्न बैंक तथा वित्तीय संस्थाका सिइओहरु, विभिन्न कर्पोरेट हाउसका प्रमुखहरू, बीमा कम्पनी तथा सरकारी निकायका प्रतिनिधिहरू तथा नेपालका चार्टर्ड एकाउन्टेन्टहरुको सहभागिता हुनेछ ।

प्रकाशित : २६ बैशाख २०८१, बुधबार १४:५७