वसन्त ऋतुमा हिमाल चढ्न ११४ जनाले लिए अनुमति, कुन हिमालमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वसन्त ऋतुमा हिमाल चढ्न ११४ जनाले लिए अनुमति, कुन हिमालमा कति ?



काठमाडौं । वसन्त ऋतुमा हिमाल चढ्न ११४ जनाले आरोहण अनुमति पाएका छन् । पर्यटन विभागको तथ्यांक अनुसार दुई दिनमा अर्थात् चैत १८ र १९ गते १३ समूहका ११४ जनाले आरोहण अनुमति पाएका हुन् । जसमा ८२ जना पुरुष रहेका छन् भने ३२ जना महिला रहेका छन् ।

जारी अनुमतिबाट आठ करोड ३९ लाख ९२ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ। यी मध्ये सबैभन्दा धेरै सगरमाथाका आरोहणका लागि अनुमति जारी भएको छ । सगरमाथा चढ्न चार समूहका ५२ आरोहीले अनुमति पाएका हुन् । जसमा ११ महिला र ४१ पुरुष रहेका छन् ।

दोस्रो स्थानमा अन्नपूर्ण प्रथम छ । यस हिमालका लागि दुई समूहका २४ जनाले आरोहण अनुमति पाएका छन् । अमादब्लम हिमालमा ३ समूहका २३ जनाले अनुमति पाएका छन् ।

पुथा हिउँचुलीका लागि सात, हिँउचुली पाँच, काङ्ग्री शार दुई र जुगल हिमालका लागि एकले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

प्रकाशित : १९ चैत्र २०८०, सोमबार १४:१०