अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्दै पाटन मल्टिपल क्याम्पस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्दै पाटन मल्टिपल क्याम्पस



काठमाडौं । पाटन मल्टिपल क्याम्पसले अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ । बिहीबार सुरु हुने पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन दुईदिनसम्म चल्नेछ ।

सम्मेलनको नेतृत्व क्याम्पसको अर्थशास्त्र विभागले गदै छ । आजको अर्थशास्त्रले विकासको सबालमा नवीन सोच र तयारी तथा नवीन ज्ञान आर्जन र सेयर गर्नुपर्ने महसुस गरिसकेकाले सोही आवश्यकता सम्बोधन गर्न अन्तर्राष्ट्रिय सम्मेनलन आयोजना गर्न लागिएको अर्थशास्त्र विभाग प्रमुख डा. रघुवीर बिष्टले जानकारी दिए । अर्थशास्त्रको नयाँ पुस्ता, नीति निर्माण तहमा रहेको वर्ग, प्राज्ञिक र बौद्धिक वर्ग एउटा मञ्चमा उपस्थित भएर प्राज्ञिक सोध तथा अनुसन्धानबाट आर्जित ज्ञान सेयर गर्न सम्मेलन आयोजना गर्न लागिएको उनका भनाई छ ।

‘अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएका छन् । कोभिड महामारी, क्षेत्रीय द्वण्द्वजस्ता गतिविधिले अध्ययनको नयाँ शिरालाई जन्म दिएका छन्,’ उनले भने, ‘यी घटनाले ठूला र साना अर्थतन्त्रमा गैरपरम्परागत प्रभाव पार्न थालेको छ । उल्लेखित विषयमा नयाँ छलफल प्रारम्भ गर्नुपर्ने आजको टड्कारो आवश्यकता भइसकेको छ ।’

नेपालजस्तो जटिल र पृथक भुराजनीतिक मानचित्रमा रहेको देशलाई अर्थशास्त्रमा आएको उल्लेखित नयाँपनलाई नजीकबाट नियाल्न सहज रहेको उनको भनाइ छ । स्थापनाको ६९ वर्षमा क्याम्पसले पहिलोपल्ट अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आयोजना गर्न लागेको हो ।
सम्मेलन बिहीबार र शुक्रबार ललितपुर पुल्चोकमा अवस्थित होटल स्क्वायरमा आयोजना हुँदैछ । जसमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहनेछ ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदुरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्लविद्यालयका विभिन्न आंगिक÷सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहनेछ । सम्मेलनका लागि कुल ३८ रिसर्च पेपर छनोट भएका छन् जो दुई दिन चल्ने ११ प्राविधिक सत्रमा प्रस्तुत हुनेछन् । सम्मेलनमा २ विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र ५ विज्ञ सम्मिलित १ प्यानल छलफलमार्फत् सहभागीले ज्ञान आर्जन गर्न सक्नेछन् । सम्मेलनमा कुल १५० जनाको सहभागिता रहनेछ ।

सम्मेलनले विकासका नयाँ मुद्दामाथि गहन छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीतिनिर्माणमा स्पष्टता र दुरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको छ । विकासको एजेन्डालाई नवसिर्जित मुद्दासँग अंगिकार गर्दै अर्थतन्त्र विस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजी सम्मेलनले गर्नेछ ।

विभागले जारी गरिएको प्रेस नोटमा भनिएको छ, ‘सघन छलफलको साझा मञ्च तयार पार्ने एउटा प्रयासको नेतृत्व गर्न पाउँदा यस पाटन मल्टिपल क्याम्पस अर्थशास्त्र विभाग गौरवान्वित छ । संयुक्त राष्ट्र खाद्य एवम् कृषि संगठनको प्रमुख सहकार्यमा आयोजना हुने सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग, नबिल बैंक, सानिमा बैंक तथा राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेका छन् ।’

प्रकाशित : १४ चैत्र २०८०, बुधबार १६:५८