सेयर बजार ओरालो लाग्ने क्रम जारी, काराेबार रकम दुई अर्ब ४८ करोडमा सिमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार ओरालो लाग्ने क्रम जारी, काराेबार रकम दुई अर्ब ४८ करोडमा सिमित



काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । सोमबार नेप्से परिसूचक १७.०१ अंक घटेर २०३१.५५ विन्दुमा रोकिएको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.६४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। गत बिहीबार चार अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा आज ३०४ कम्पनीको ७० लाख ६१ हजार कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा अधिकांश कम्पनीको सेयर मुल्य घटेको छ । आज बैंकिङ १३.३७, विकास बैंक ६०.५८, वित्त १६.७८, जलविद्युत २७.९८, जीबन बीमा १००.२५,माइक्रोफाइनान्स ९०.६२ र निर्जीबन ८२.६४ अंकले घटेको छ । भने , होटल २३.७१, उत्पादन तथा प्रशोधन १४७.८२, ट्रेडिङ समूहको ८.७३ अंक बढेको छ ।

नेप्से घटेपनि आज बोटलर्स नेपाल (बालाजु) र सर्वोत्तम सिमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गत साताको मंगलबारदेखि कारोबारमा आएको सर्वोत्तम सिमेन्टको सेयर निरन्तर चौथो कारोबार दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। साथै, आज किसान लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २८ करोड ९० लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार १५:३६