महानगरपालिकाले ५ वर्षे विपद व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

महानगरपालिकाले ५ वर्षे विपद व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभागले ५ वर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ । सहरी विपद जोखिम न्युनीकरणका लागि पूर्वतयारी, विपदको समयमा गर्नु पर्ने व्यवस्थापनका काम र विपदपछिको पुनर्स्थापना , पुनर्लाभका लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय योजनामा समेटिनेछन् ।

यसबाट सुरक्षित सहर निर्माणमा योगदान पुग्ने विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले बताए । उनले भने, ‘सहरको मौलिकता र आधुनिक विकासको चरणलाई सन्तुलित गर्दै सहरलाई सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माण गरिनेछ ।’

आगामी नीति र कार्यक्रम, वडाका आवश्यकताका विषयमा पृष्ठपोषण लिनका लागि विभागले बुधबार वडास्तरीय विपद व्यवस्थापन समितिका संयोजकहरुसँग आयोजना गरेको छलफल कार्यक्रममा प्रस्तुतिकरण गर्दै विभागका निमित्त प्रमुख गंगाधर गौत्तमले विद्यमान अवस्थाको विश्लेषण गर्दै रणनीतिक योजना तर्जुमाको अवधारणाका विषयमा जानकारी गराए ।

सामुहिक ज्ञान, सिप र सोचको विकासबाट जोखिम घटाउने काम गर्नु पर्ने आवश्यकतालाई रणनीतिक योजनाले पूरा गराउने बताउँदै गौत्तमले, आगामी बर्षबाट रणनीतिक योजना कार्यान्वयन थालिने, त्यसैअनुरुप नीति, बजेट, कार्यक्रम प्रस्ताव गरिने उनको भनाइ थियो ।

विपद व्यवस्थापनमा संघ, प्रदेश र जिल्ला स्तरका संयन्त्र, यी संयन्त्रसँग पालिका र वडास्तरीय सम्बन्ध, प्रभावकारी सेवा कसरी सञ्चालन गर्न सकिन्छ, यस कोणबाट काम थाल्नुपर्छ । छलफलमा वडाध्यक्ष र वडास्तरीय समितिका संयोजकहरुले पूर्वाधार विकासजन्य जोखिमको पूर्वानुमान गर्ने, महानगरपालिका केन्द्र र केन्द्र जत्तिकै वडास्तरीय क्षमता विकास गर्ने नीति कार्यक्रममा जोड दिएका छन् ।

विपद पर्नासाथ व्यवस्थापनको पहिलो काम गर्न कसैलाई पर्खनु नपरोस्, कसैको बाटो हेर्न नपरोस् । यसप्रकार क्षमता विकास गरौँ । शासकीय प्रबन्धमा विपदलाई हेर्ने दृष्टिकोण, जोखिममुक्त सुविधा वितरण प्रणाली, यसका लागि साझेदारबिचको सम्बन्ध र समन्वय, सुरक्षित सहरका लागि पूर्वाधार निर्माणमा उनीहरुको जोड छ ।

सहरको पहिलो जोखिम आगलागी हो । छलफलमा विपद व्यवस्थापन महाशाखा प्रमुख एवं नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले, विद्युतजन्य आगलागीको जोखिम बढ्दै गएको उल्लेख गरे । ‘आगलागीको खवर प्राप्त भएको आधा मिनेटभित्र दमकल स्टेशनबाट बाहिर निस्कने गरेका छन् । सडकमा यातायातको चापका कारण गन्तव्यमा पुग्न कठिन छ ।’ जोशीको भनाइ छ । छलफलमा समितिका संयोजकसहित विपद व्यवस्थापन समितिका सदस्यहरुले धारणा राखेका थिए ।

प्रकाशित : १ चैत्र २०८०, बिहीबार १४:३१