बचत संस्कृति प्रवर्द्धनसंगै कृषि, पशुपालन र उद्योगमा सदस्यलाई प्रोत्साहन गर्दै हाम्रो जनकल्याण साकोस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

बचत संस्कृति प्रवर्द्धनसंगै कृषि, पशुपालन र उद्योगमा सदस्यलाई प्रोत्साहन गर्दै हाम्रो जनकल्याण साकोस



दोलखा । सहकारीको हब बन्दै गएको दोलखाका सहकारी संस्थाहरुले बचत सङ्कलन तथा ऋण लगानीसंगै कृषि, पशुपालन र उद्योग सञ्चालनको लागि समेत विशेष योजना अघि सारेका छन् । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले कृषि, पशुपालन र उद्योग सञ्चालनमा विशेष योजनाका साथ लगानीसंगै उत्पादन र बजार व्यवस्थापनमा समेत काम गर्ने प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले बताए ।

सहकारीमा आवद्ध कृषि पेशामा रहेका सदस्यहरुलाई पशुपालन सम्बन्धि तालिम दिने र दुग्ध उत्पादन, डेरी सञ्चालन र बजार व्यवस्थापनमा समेत सहयोग गर्ने प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए ।

वातावरण संरक्षणमा अग्रसर

वातावरण संरक्षणका लागि भीमेश्वर नगरपालिका क्षेत्रमा ४० माइक्रोन भन्दा तलको प्लाष्टिक झोला प्रयोगलाई निरुत्साहित गर्न हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था र भीमेश्वर नगरपालिकाको कार्यालय बीच साझेदारी गरेर संस्थाले अभियानलाई सार्थकता दिदैँ आएको छ । फोहोर उत्पादन विन्दूमा नै पुगेर फोहोरको वर्गिकरण, त्यसको महत्व र व्यवस्थापनका बारेमा सचेतना फैलाउँदा सजिलै स्वच्छ र सुन्दर भीमेश्वर नगर बनाउने टेवा पुग्ने हिसाबले काम गर्दै आएको प्रमुख कार्यकारी अधिकृत वस्नेत बताउछन् ।

साझेदारी कार्यक्रममा हरेक परिवारलाई तीन रङ्गको ४० माइक्रोन भन्दा माथिको प्लाष्टिक झोला अभियानको केही महिना निःशुल्क वितरण गरिदै आएको छ भने वातावरणमैत्री सपिङ झोला उपभोक्तालाई पच्चिस रुपैयाँमा बिक्री गरिदै आएको छ ।

सदस्यको सिपलाई प्रोत्साहन

सहकारीले सदस्यको उत्पादनलाई प्रोत्साहन गर्ने नितिलाई प्रथामिकतामा राखेको छ । गृहिणी महिलाहरूले मकैको खोस्टाबाट उत्पादन गरेको चकटीलाई बजारीकरण गर्ने काम यस सहकारीले गरेको छ। यसले गर्दा गृहिणीलाई समेत फाइदा पुगेको छ। घरमा बसेका महिलालाई ढाका ऊनीको कपडा बनाउने तालिमसमेत सहकारीले प्रदान गर्दै आएको छ। कृषकलाई कृषि क्षेत्रमा आवश्यक तालिमहरू दिएर पे्ररित गर्ने काम पनि हाम्रो जनकल्याण सहकारीले गरेको छ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले भने , चकटी बस्न, धार्मिक पूजाआजा, पितृ कार्य समेतका लागि समेत उपयोगी मानिन्छ । हेर्दा पनि आकर्षित रहेकाले प्रचारप्रसारका लागि यस्ता कार्यलाई संस्थाले प्रवर्द्धन गर्दै आएको उनले बताए ।

यसो गर्दा सिप पनि बिक्ने र रोजगारी पनि हुने हुँदा परम्परागतका सामान निर्माणमा जोड दिने सहकारीको उद्देश्य रहेको बस्नेतको भनाई छ । संस्थाले तरकारी खेती, गाई पालन, कुखुरा पालन गर्ने उद्यमीलाई सहयोग गर्दै आएको छ। साथै गृहिणी महिलाको आर्थिक आम्दानीको पाटोलाई मजबुत बनाउन विभिन्न कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

सुत्केरी प्रोत्साहन भत्ता

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.ले पनि करिब ६ वर्षअघिदेखि सुत्केरी प्रोत्साहन भत्ता दिदैं आएको छ । सुत्केरी हुने बेला पौष्टिक र खानामा विशेष ध्यान दिनुपर्ने भएकाले प्रोत्साहन स्वरुप एक हजारको दरले बढीमा दुई वटासम्म सन्तान जन्माउने आमाहरुलाई दिने गरेको प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिए । वर्षमा लगभग २०/२५ जनालाई नै प्रोत्साहन भत्ता दिदैं आएको उनले जानकारी दिए । सुत्केरी प्रोत्साहन भत्ता दिन थालेपछि शेयर सदस्य बन्नेमा वृद्धि आएको अनुभव उनको छ ।

बचत संस्कृति प्रवर्द्धन

हाम्रो जनकल्याण साकोस समुदायमा आधारित उत्कृष्ट वित्तीय संस्था रुपमा परिचित छ । २०७५ सालमा संस्था देशकै उत्कृष्ट साकोस बन्न सफल भएको थियो । २०७४ सालदेखि यस संस्थाले एक्सेस ब्राण्ड समेत प्राप्त गर्दै आएको छ ।

समाजमा बचत संस्कृति प्रवर्द्धन गर्ने उद्देश्य लिएको सहकारीले आफ्ना सेयर सदस्यको सम्बन्धलाई बलियो र नियमित बनाउन प्रत्येक दिन कार्यालयमा उपस्थित हुने सेयर सदस्यमध्येबाट छनोट गरी महिनाको लक्की सदस्य घोषणा गर्ने गरेको छ।

सदस्यलाई बचतमात्र नभई सहकारी प्रति सदस्यलाई जिम्मेवार बनाउने काममा संस्था क्रियाशिल रहेको छ । संस्थाले बचत, ऋण मात्र नभई सदस्यलाई सिपमुलक तालिमका सँगै उत्पादित बस्तुको बजारीकरणमा समेत सहयोग गर्दै आएको छ ।

प्रकाशित : २४ फाल्गुन २०८०, बिहीबार १६:२५