भ्रष्टाचारको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भ्रष्टाचारको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा १० जना विरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगले जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सिँचाई आयोजनाका इन्जिनियर महेश सिंह कठायत, वडा नं. ९ का वडाध्यक्ष परुनाथ याेगी सहित १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतलमा आज आरोपपत्र दायर गरेको हो ।

सोरु गाउँपालिका वडा नं. ९ स्थित तन्दवाडा-छडा सिँचाई आयोजनामा आयोजनाका अध्यक्ष र कर्मचारीको मिलेमतोमा लागत अनुमान लुकाई इष्टिमेटअनुसार काम नगरी सरिया र सिमेन्ट पनि कम प्रयोग गरी न्यून गुणस्तरको काम गरी रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेकाे थियाे ।

अनुसन्धानका क्रममा सम्झौता विपरी सम्झौता बमोजिमको कार्य नगरी इष्टिमेट अनुसारको काम सम्पन्न नभएको अवस्थामा समेत गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन तयार गरी नभए नगरेको कामको समेत पहिलो, दोस्रो र अन्तिम रनिङ विलहरु प्रमाणित गरी उपभोक्ता समितिलाई बास्तविक भए गरेको कार्य भन्दा २६ लाख ८२ हजार १४ रुपैयाँ बराबरको बढी भुक्तानी लिई/दिई नेपाल सरकारी/सार्वजनिक संस्थालाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने कार्य गरेकाे पुष्टि भएकाे छ।

उक्त भ्रष्टाचार कसुरमा संलग्न प्रतिवादीहरू उपर सजाय र २६ लाख ८२ हजार १४ रुपैयाँ बराबरको बिगो बमोजिमको जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार १७:१४