कपिलवस्तुका तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कपिलवस्तुका तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुका तत्कालीन वन अधिकृत कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध मुद्दा दायर गरेको छ। गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती लिएभन्दा बढी काठ कटान गरेको र त्यसबाट भ्रष्टाचार भएको दावी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

१९ मध्ये १७ जनालाई जनही २९ लाख १२ हजार १९३ रुपैयाँ ६५ पैसा बिगो माग गरिएको छ । दुई जनालाई भने क्रमशः १९ लाख ७३ हजार ५८ रुपैयाँ २५ पैसा र ९ लाख ३९ हजार १३५ रुपैयाँ ४ पैसा मागदाबी भएको छ ।

गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुमा आ.व.०७४/०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराएको थियो । तर कर्मचारीहरूसँग मिलेमतो गरी केही काठ लुकाई छिपाई नजिकैको सःमिलमा बेचेर अनियमितता गरेपछि अख्तियारमा उजुरी परेको थियो ।

विभिन्न ६ वटा कटान प्लटहरूमा विभिन्न जातका ८०३ वटा रुखहरू छपान भएकोमा ८०१ वटा रुखहरू कटान भएको थियो । उक्त ८०१ वटा रुखको नाँपजाँचको आधारमा ३५ हजार ७७७ रुपैयाँ १० पैसा क्वी फिट काठ र ४०.२३ चट्टा दाउरा संकलन हुनुपर्ने थियो ।

तर नापजाँच मूल्याङ्कन परिमाणभन्दा कम परिमाणमा काठ उत्पादन संकलन भएको देखाइएको थियो । जिल्ला वन कार्यालयकै अधिकारीहरूसम्मले मिलेमतो गरी प्लट नं B1C5S4F1 को ठेक्का गोरखा मनकामना काष्ठ फर्निचर उद्योग काठमाडौंलाई दिइएको थियो ।

सो स्थानबाट काठ-दाउरा, फाएरलाइन-१, ढलापडा प्लट र फाएरलाइन-२ को गरी चारवटै प्लटको जम्मा ९,३९,१३५.४० रुपैयाँ मूल्य बराबरको वन पैदावार हिनामिना हानीनोक्सानी गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।

दुई प्लटहरूबाट जम्मा १९ लाख ७३ हजार ०५८.२५ रुपैयाँ बराबरको वन पैदावर हिनामिना हानीनोक्सानी भएकोमा राजश्वको दररेट अनुसार जम्मा बिगो २९ लाख १२ हजार १९३.६५ रुपैयाँ बराबरको वन पैदावर हानीनोक्सानी भएको पाइएको अख्तियारले जनाएको छ । यो भ्रष्टाचार मुद्दा लागेका जानकीप्रसाद यादव राप्रपाका तर्फबाट लुम्बिनी प्रदेश सांसद्‌ हुन्‌ ।

प्रकाशित : ८ फाल्गुन २०८०, मंगलवार १५:४९