महँगी घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

महँगी घट्यो



काठमाडौं । चालुआर्थिक वर्ष २०८०/८१ को छ महिनामा महँगी घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ ।

२०८० पुस महिनामा घ्यूतथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप(समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकाङ्कमा समेत क्रमशः कमी आइरहेको अवस्था छ ।

वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धि दरमा समेत कमी आएको छ । फलस्वरुप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रुपमा कम दबाब पर्न गएको राष्ट्र बैंकको भनाइ छ ।

२०८० पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.८२ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ६.१६ प्रतिशत, १.९९ प्रतिशत र २.७१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोकमुद्रास्फीति १.०८ प्रतिशतले घटेको छ

प्रकाशित : २३ माघ २०८०, मंगलवार १३:२५